माथिल्लो तामाकोशीको शेयर बारे सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

फागुन २२, काठमाडौ – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर रामेछापबासीले नपाउने अवस्था बारे सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले आज कारण देखाउ आदेश जारी गर्दै चैत ३ गते विपक्षी उर्जा मन्त्रालय, आयोजना लगायतका निकायलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो । अधिवक्ता थरिप्रसाद कडेलसहित १२ जनाले दायरको रिटमा प्रारम्भिक बहसपछि चैत ३ गते कारण सहित उपस्थित हुन आदेश दिएको हो ।

राष्ट्रि गौरवको तामाकोशी जलविद्युत आयोजनाको शेयर रामेछापबासीले पनि पाउनुपर्ने माग गर्दै तीन दिनअघि रिट दर्ता भएको थियो । रामेछापका ११ गाविस तामाकोशीबाट प्रभावित भन्दै सदरमुकाम मन्थली र विमानस्थल समेत तामाकोशी किनारामा रहेकाले प्रभावितको परिभाषामा रामेछापबासीलाई पनि पार्नुपर्ने उनीहरुको माग छ । १२ लाख घनमिटर जलाशयुक्त आयोजना फुटेमा सबैभन्दा ठूलो क्षति रामेछापबासीले व्यहोर्ने दावी रिटमा गरिएको छ ।