राष्ट्रपति चैतको दोस्रो साता चीन भ्रमणमा जाने

फागुन २३, काठमाडौँ – राष्ट्रपति रामवरण यादव चैतको दोस्रो साता चीन भ्रमणमा जाने निश्चित भएको छ । उनी दक्षिण चीनको उष्ण प्रदेशीय टापु हैनानस्थित बोआओ सहरमा चैतको १२ देखि १५ सम्म हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुँदैछन् ।

राष्ट्रपतिको यो दोस्रो चीन भ्रमण हुनेछ । तर यस पटक पनि उनको चीन भ्रमण राजकीय होइन । राष्ट्रपति भएयता उनले दक्षिण छिमेकी भारतको तीन पटक औपचारिक भ्रमण गरिसकेका छन् । बोआओमा उनले चिनियाँ समकक्षी सी जिनपिङसँग साइडलाइन वार्ता गर्ने भएका छन् । यसअघि अक्टोबर २०१० मा सांघाई वल्र्ड एक्स्पोमा सहभागी हुने क्रममा यादवले तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपति अहिलेसम्म द्विपक्षीय भ्रमणका लागि भारतबाहेक कतार र कुवेतमात्र पुगेका छन् । उत्तर छिमेकबाट समकक्षीस्तरको निमन्त्रणा गराउन नसक्नुलाई सरकारको कूटनीतिक कमजोरी भनेरसमेत विज्ञहरूले विश्लेषण गरेका छन् ।