भारतको लगातार चौथो जित, वेष्ट इन्डिज ४ विकेटले पराजित

फागुन २२ , काठमाडौँ -विश्वकप क्रिकेटमा भारतले लगातार चौथो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा वेष्ट इन्डिजलाई ४ विकेटले हराउँदै भारतले प्रतियोगितामा खेलेका सबै चार खेल जितेको हो । सबै खेलमा जितपछि भारत ८ अंक र राम्रो रनरेट सहित समूह बी को शीर्ष स्थानमा छ ।

अष्ट्रेलियाको पर्थमा वेष्ट इन्डिजले दिएको १ सय ८३ रनको लक्ष्य भारतले ३९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान महेन्द्रसिंह धोनीले नटआउट ४५, विराट कोहलीले ३३, सुरेश रैनाले २२, रविचन्द्र आश्विनले नटआउट १६, अजिन्क्या रहानेले १४, रविन्द्र जडेजाले १३ रनको योगदान गरे । ओपनर रोहित शर्मा ७ र शिखर धवन ९ रन जोड्दैमा आउट भए ।
वेष्ट इन्डिजका जेरम टेलर र आन्द्रे रुसेलले २/२, केमार रोच र ड्वायेन स्मिथले १/१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज ४४.२ ओभरमा १ सय ८२ रन जोड्दा अलआउट भयो । क्यारेवियन ब्याट्सम्यानमाथि शुक्रबार भारतीय बलरहरु हावी भएका थिए । वेष्ट इन्डिजका जासन होल्डरले ५७, डारेन सामीले २६, जोनाथन कार्टर र क्रिस गेलले २१/२१ रन तथा जेरम टेलर्सले ११ जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर पनि छुन सकेनन् । ओपनर ड्वायेन स्मिथ ६, मार्लोन स्यामुअल्स २, आन्द्रे रुसेल ८ र लेन्डिल सिमन्सले ९ रन बनाउदैमा पभिलिएन फर्किए ।

भारतका लागि महम्मद सामीले ३, उमेश यादव र रविन्द्र जडेजाले २/२ तथा रविचन्द्र आश्विन र मोहित शर्माले १/१ विकेट लिए । चालु प्रतियोगितामा भारतले यसअघि पाकिस्तान, दक्षिण अफ्रिका र युएईलाई हराएको थियो । वेष्ट इन्डिजले भने आयरल्याण्ड र दक्षिण अफ्रिकासँग पराजय ब्यहोरेको छ भने जिम्बाब्बे र पाकिस्तानलाई हराएको छ । हारपछि पनि वेष्ट इन्डिजको क्वार्टरफाइनल पुग्ने सम्भावना कायम नै छ ।