शान्ति, सत्य र अहिंसा मुलुकको आजको आवश्यकता : प्रम कोइराला

फागुन २२, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा अहिले सत्य, शान्ति र अहिंसाको आवश्यकता रहेकाले बौद्ध धर्मावलम्बीलाई शान्ति र अहिंसाको सन्देश फैलाउन आग्रह गरेका छन् । बौद्ध धर्मका प्रसिद्ध तीर्थस्थलको भ्रमणपछि भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका पदाधिकारी एवम् धर्मगुरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले गौतम बुद्धको जन्मभूमि नेपालमा यतिखेर द्वन्द्व, हिंसा र विवाद नभई अहिंसा, शान्ति र सहमतिको आवश्यकता रहेको बताए ।

“मुलुकमा सधैँ आन्दोलन मात्र भएकाले गरिबी, अभाव र दुःख हट्न सकेन, “प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “अहिले जनताले शान्ति, अमनचयन र समृद्धि खोजेकाले कसैले पनि आन्दोलन गर्न हुँदैन ।”नयाँ बन्ने संविधानले मात्र विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने र सबै जातजाति, धर्म, लिङ्ग, क्षेत्र र वर्गका हकअधिकारलाई सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले त्यसका लागि सबैको सहयोगको अपेक्षा गरे ।

  सो भेटमा समितिका पदाधिकारीले वार्षिक कार्यक्रम ‘३९औँ बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम’को अनुभव सुनाउँदै गुम्बा, विहार, छ्योर्तेन, कोइबोलगायत ऐतिहासिक धरोहरको सम्वद्र्धन र संरक्षणसम्बन्धी ऐन कानुनको निर्माणलगायत माग गरेका थिए ।