स्वाइन फ्लु झन् तीव्र, चितवनमा पनि ४ जनामा भेटियो

फागुन १५, काठमाडौं-मुलुकमा स्वाइन फ्लुको संक्रमण अझ तीव्र भएको छ । स्वाइन फ्लु संक्रमित एक महिलालाई काठमाडौं मोडेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ । संक्रमितको संख्या १७ पुगेको छ ।

काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा  स्वाइन फ्लु देखिइरहेका बेला चितवनमा पनि यसको प्रभाव देखिएको छ । चितवनमा चारजनामा स्वाइनफ्लुको सङ्क्रमण भएको फेला परेको छ। चितवनस्थित भरतपुर अस्पतालबाट पठाएका नमुना परीक्षणमा चार जनामा स्वाइनफ्लु ‘इन्फुल्न्जा ए, एचवान एनवान’ को सङ्क्रमण रहेको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको छ ।

माघ यता इपिडिमियोलोजी महाशाखा काठमाडौँमा पठाइएका ४३ वटा नमुना परीक्षणमा चारजनाका स्वाइनफ्लु रहेको पुष्टि भएको जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए।

चार जनामा ‘स्वाइन फ्लु’ भेटिएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा ‘स्वाइन फ्लु’ भित्रिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले रोकथामका लागि उच्च सतर्कता अपनाएको छ ।