विश्वकप क्रिकेटमा पाकिस्तानको लस्जास्पद हार,वेष्ट इन्डिज १ सय ५० रनले विजयी

फागुन ९,काठमाडौँ-  एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले लज्जास्पद हार बेहोरेको छ । वेष्ट इन्डिजले प्रस्तुत गरेको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान एक सय ५० रनले पराजित भयो ।
सुरुवातमै लगातार चार ब्याट्सम्यान गुमाएको पाकिस्तानले ३९ ओभरमा अलआउट हुँ्दै एक सय ६० रन मात्र जोड्न सक्यो ।
पाकिस्तानका लागि उमर अकमल ५९ र सोहीद मक्सदले ५० रन बनाए । साहीद अप्रिदीले २८ रन जोड्दा अन्य व्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।
न्युजिल्याण्डको क्राईष्टचर्चमा टस हारेर व्याटिङ्गको निम्तो पाएको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रनको योगफल बनाएको थियो ।
वेष्ट इन्डिजका लागि दिनेश राम्दिनले सर्वाधिक ५१ रन जोड्दा लिन्डल सिम्मोन्सले ५० रन बनाए ।
डरेन ब्राभोले ४९ रन जोडेको इनिङ्गमा आन्द्रे रुसेलले ४ छक्का र ३ चौका प्रहार गर्दै अविजित ४२ रन बनाए ।
यसअघि दुवै टिमले आफ्नो पहिलो खेल गुमाएका थिए । वेष्ट इन्डिज आयरल्याण्डसँग पराजित हुँदा पाकिस्तान, भारतसँग ७६ रनले हारेको थियो ।
यसैबीच, विश्वकप अन्तर्गत आज हुने अष्ट्रेलिया र बंगलादेशबीचको अर्को खेल भने वर्षातका कारण अझै सुरु हुन सकेको छैन ।
अस्ट्रेलियाको ब्रिस्बेनमा नेपाली समयानुसार बिहान सवा ९ बजेबाट सुरु हुने खेल वर्षाका कारण सुरु हुन ढिलाइ भएको हो ।
यसअघि हिजो भएको खेलमा आयोजक न्यूजिल्याण्ड लगातार तेस्रो जित हासिल गर्दै क्वार्टरफाइनल नजिक पुगेको छ ।
निकै फर्ममा देखिएको न्यूजिल्याण्डले इङ्गल्याण्डमाथि विश्वकपमा कीर्तिमानी ८ विकेटको जित हासिल गरेको हो ।