शिवरात्रिमा पशुपति आएका साधुसन्तको विदाइ

फागुन ७, काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व मनाउन पशुपतिनाथमा भेला भएका साधुसन्त तथा नागाबाबाको विदाइ गरेको छ ।कोषले बिहीबार १ सय १ रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म भेटी दिएर करिब ४ हजार साधुसन्त तथा नागाबाबाको विदाइ गरेको हो । महाशिवरात्रि पर्व मनाउन देशका विभिन्न भाग तथा भारतका विभिन्न स्थानबाट एक साताअघि पशुपतिनाथमा साधुसन्त तथा नागाबाबा आएका थिए । कोषले पशुपतिमा आएका सबै साधुसन्त तथा नागाबाबालाई उनीहरु आएको स्थानका आधारमा विभिन्न ६ श्रेणीमा विभाजन गरेर भेटी दिएको हो ।

कोषले पशुपतिमा सधैंजसो आउने साधुसन्तलाई १ सय १ रुपैयाँ दिइएको तथा अन्यलाई श्रेणी अनुसार ५ सय, १ हजार ५ सय, २ हजार १ सय, ३ हजार ५ सय र ५ हजार रुपैयाँ दक्षिणास्वरुप दिइएको बताएको छ ।कोषले साधुसन्तलाई दक्षिणाका अतिरिक्त रुद्राक्षको माला दिइ भोजन गराएर विदाइ गरेको कोषकी साधुसन्त धार्मिक उपसमितिकी संयोजक शिला पन्तले बताउनुभयो । कोषले दिएको दक्षिणप्रति कतिपय साधुसन्तहरुले भने असन्तुष्टि जनाएका छन् ।उनीहरुले आफूहरु २ हजार रुपैयाँ भन्दा बढी रकम खर्च गरेर पशुपति आएपनि कोषले एक सय रुपैयाँ मात्र दिएको तथा भोजन र आवासको पनि राम्रो व्यवस्था नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

कोषले साधुसन्त तथा नागाबाबाहरुको असन्तुष्टिलाई स्वभाविक भनेको छ । कोषले पशुपतिमा रहेका बुढानिलकण्ठ, गणेश, हनमान, नवग्रह र भैरवको मन्दिरमा भक्तजनले एकादशीको दिनदेखि बिहीबार बिहानसम्म चढाएको भेटी सबै साधुसन्त तथा नागाबाबालाई दिएको भन्दै दक्षिण जति दिएपनि उनीहरुले कम भयो भनेर गुनासो गर्ने गरेको कोषकी सदस्य रहेकी साधुसन्त धार्मिक उपसमितिकी संयोजक पन्तले बताउनुभयो ।महाशिवरात्रीमा मेला भर्न आएका साधुसन्त तथा नागाबाबाहरुलाई गुठी संस्थानले पनि दक्षिण दिने गरेको छ । कोषले भने चार वर्षदेखि मात्र दक्षिणा दिन थालेको हो ।