आयरल्याण्डको विजयी सुरुवात, बलियो प्रतिद्वन्द्वी वेष्ट इण्डिज ४ विकेटले पराजित

फागुन ४,काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको पुर्ण सदस्य राष्ट्र वेष्ट इण्डिजलाई हराँउदै एसोसिएट सदस्य आयरल्याण्डले एक दिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेका छ ।
न्युजिल्याण्डको नेल्सनमा आज भएको खेलमा आयरल्याण्डले क्यारेबीयन टोली वेष्ट इण्डिजलाई ४ विकेटले हरायो ।
वेष्ट इण्डिजले दिएको ३ सय ५ रनको विशाल लक्ष्य आयरल्याण्डले ४५ दशमलव ५ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गर्‍यो ।
आयरल्याण्डको जीतमा पउल स्टीर्लीङको ९२ रन तथा एड जोएसको ८४ रन महत्वपुर्ण रह्यो । यसैगरी नेल ओब्रायनले अविजित ७९ रन जोडे ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाँउदै ३ सय ४ रनको योगफल तयार पार्‍यो ।
कुनै सयम ८७ रन जोड्दा ५ विकेट गुमाईसकेको वेष्ट इंडीजको ईनीङलाई मध्यक्रमका व्याट्सम्यानहरु ड्यारेन स्यामी र लेड्ले सिमोन्सले छैटौं विकेटका लागि १ सय ५४ रनको साझेदारी गर्र्दै समालेका हुन् ।
सिमोन्सले १ सय २ रन जोडेभने स्यामीले ८९ रनको योगदान दिए । बलीङतर्फ आयरल्याण्डका जर्ज डक्रेलले ३ विकेट लिए ।
आजको जीतसँगै आयरल्याण्डले अन्तराष्ट्रिय क्रिकेटमा बनाएको जायन्ट किलरको उपनामलाई जिवित राखेको छ ।
सन् २००७ मा पहिलो पटक विश्वकप क्रिकेट खेलेको आयरल्याण्डले त्यतीवेला विश्वको चौथो वरीयताको टोली पाकिस्तानलाई हराएको थियो ।
यसैगरी २०११ को विश्वकपमा इंग्लण्ड जस्तो बलीयो टोलीलाई हराँउदै आयरल्याण्डले विश्व क्रिकेटमा अलग्गै पहिचान बनाएको थियो ।
यस पटक अर्को बलीयो राष्ट्र वेष्ट इंडीज माथिको जितबाट आयरल्याण्डले आप्mनो करीयरको तेस्रो विश्वकप क्रिकेट सुरु गरेको छ ।
एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भोलि हुने खेलमा न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन् ।
न्युजिल्याण्डले पहिलो खेलमा श्रीलंकालाई हराएको थियोभने स्कटल्याण्डले भोली पहिलो खेल खेल्न लागेको हो ।