एचएसबीसी बैंकले माग्यो माफी

फागुन ४,काठमाडौं – कर छल्ने संसारभरिका व्यापारीको कालोधनलाई संरक्षण गरेको आरोप लागेको स्वीटजरल्याण्डस्थित एचएसबीसी बैंकले माफी मागेको छ । बेलायतबाट निस्कने पत्रिकामा पूरा पेजको विज्ञापन निकालेर एचएसबीसी बैंकले माफी मागेको हो । पत्रिकाहरुमा प्रकाशित विज्ञापनमा एचएसबीसी बैंकका मुख्य कार्यकारी अधिकृत स्टुअर्ड गुलिवरको हस्ताक्षर छ । स्टुअर्डले जारी गरेको खुल्ला सन्देशमा कालोधनबारे खुलासा गरिएको घटनालाई ‘एक दुस्खद अनुभव’ भनेका छन् ।

यसैवीच बेलायती संसदीय समितिले यस घटनाबारे अध्ययन र छानविन गर्ने भएको छ । राजस्व एवं सीमा शुल्क विभागले एचएसबीसी बैंकका अधिकारीहरूसँग पनि छलफल गरिसकेको बीबीसीले लेखेको छ ।आतंकवादीहरुको माध्यम बनेको आरोप लागेपछि अमेरिकामा पनि एचएसबीसी बैंकले अमेरिकी सिनेटको एक समितिमा माफी मागेको छ ।उता जर्मनीमा एचएसबीसी बैंकमा खाता खोल्ने केही खातावालको घरमा प्रहरीले छापा मारेको छ ।एचएसबीसी बैंकमा नेपालका ८ व्यक्तिको खाता रहेको भनिए पनि व्यक्तिको खुलासा भएको छैन । नेपालमा पनि आइतबार व्यवस्थापिका संसदको अर्थ समितिले विदेशमा रहेको कालोधनबारे राष्ट्र बैंकका गभर्नरलाई बोलाएर छलफल गरेको छ ।