कांग्रेस बलिदान हुन तयार छ तर गरेको बाचाबाट पछि हट्दैनः उपप्रधानमन्त्री सिंह

फागुन ४,काठमाडौं – उपप्रधानतथा संघीय मामिलाएवम् स्थानीयविकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस आफूले विगतमा गरेको वाचाबाट पछि नहट्ने स्पष्ट पारेका छन । उनले भने–‘काग्रेस विगतमाआफूले गरेको प्रतिबद्धता र सहमतिबाट पछि हट्दैन बरु बलिदानीगर्न तयार छ ।’

रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउन काँग्रेस जिम्मेवार र प्रतिबद्ध भएको बताए । उनले भने–‘१२ बुँदे समझादारी, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार नै हामी अगाडि बढ्छौं, त्यसबाट काँग्रेस एक कदमपनि पछि हट्दैन, त्यसलाई कार्यान्वयनगर्न हामी जस्तोसुकै बलिदानी दिन पनि तयार छौं ।’ मन्त्री सिंहले उक्त समझादारीहरुमा टेकेर सेकसम्म सहमतिकै आधारमा संविधान जारी गर्ने पक्षमा आफूहरु रहेको प्रष्ट पारे ।
कार्यक्रममा मन्त्री सिंहले सहमतिको नाममापहिलो संविधानसभा असफल बनाए पनि दोस्रो संविधानसभालाई कुनै पनि हालतमा असफल हुन नदिने स्पष्ट पार्दै आफ्नो एजेण्डा भन्ने एमाओवादीको संविधानसभा एजेण्डा हो कि होइन आशंका उत्पन्न भएको बताए । उनले भने–‘हामी समझदारीबाट पछि हटेको होइन, अहिले आन्दोलनको कुरा गर्ने एमाओवादी १२ बुँदे समझादारी, अन्तरिम संविधान र शान्ति सम्झौताबाट पछि हट्न चाहेको छ ।’
दोस्रो संविधानसभालाई शान्तिप्रक्रियाको अंगको रुपमा लिएकाले शान्तिप्रक्रिया टुङ्गयाउने जिम्मा पनि काँग्रेसकै भएको भन्दै त्यही जिम्मेवारी बोध गरेर अहिलेसम्म कसैले गर्न नसकेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानविन आयोग गठन गरेको बताए ।
उपलब्धि प्राप्त गर्ने बेलामा मिलेर लड्ने दलहरु उपलब्धिलाई संस्थागत गर्ने बेलामा एक आपसमा लड्नु विडम्बनापूर्ण भएको भन्दै मन्त्री सिंहले उपलब्धिको रक्षा गर्न लोकतान्त्रिक संविधान जारी गर्नैपर्ने भएकाले त्यसमा काँग्रेस पूर्ण प्रतिबद्धत रहेको बताए ।
उनले १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र विभिन्न समयमा भएका सहमतिमा काँग्रेस प्रतिबद्धत रहेको कुरा बारम्बार देखाइरहन आवश्यक नरहेको तर्क गर्दै माओवादीले संविधानसभामा गरेको वितण्डा निन्दा योग्य भएको टिप्पणी गरे ।
मन्त्री सिंहले वार्ताको लागि प्रधानमन्त्रीले एक पटक लिखित रुपमा आग्रह गरिसकेकाले अब दोहोराएर आग्रह नगर्ने स्पष्ट पार्दै सडकबाट संविधान घोषणा गर्नुको अर्थ नभएकाले संविधानसभामा आएर आफ्नो एजेण्डाका लागि लड्न सुझाव दिए । उनले भने–‘प्रधानमन्त्रीले प्रष्ट पारिसक्नुभएको छ, यहाँभन्दा बढी प्रष्ट पार्नुपर्ने आवाश्यकता छैन, अर्को पत्र लेख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न ।’
शान्तिप्रक्रियाको पालना काँग्रेसले इमान्दारितापूर्वक गरिरहेको दावी गर्दै उनले एमाओवादी नै आफ्नो प्रतिबद्धताबाट भाग्न खोजिरहेको आशंका ब्यक्त गरे । उनले भने–‘शान्तिप्रक्रियाको हस्ताक्षर गर्ने मध्ये एमाओवादी पनि एउटा महत्वपूर्ण हिस्सा भएकाले उसले सडकबाट संविधान जारी गर्छु भन्ने अभिव्यक्ति दिनुले एमाओवादी शान्तिप्रक्रियामा कत्तिको जिम्मेवारी छ भन्नेमा आशंका पैदा भएको छ ।’
उनले २०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त भएका उपलब्धि गणतन्त्र, संघीयता, अन्तरिम संविधान, धर्मनिरपेक्षता र समावेशितामा आधारित भएर नै आफूहरु अघि बढ्ने बताए । यद्यपी मन्त्री सिंहले धर्म राज्यको नभई नागरिकको हुने भएकाले राज्यले धर्मनिरपेक्षता अपनाएर धर्म परिवर्तनविरुद्ध कडा कानून ल्याउने स्पष्ट पारे ।
पत्रकारहरुले स्विस बैंकमा नेपालीहरुले राखेको कालो धनको वारेमा सरकारले छानविन गर्छ कि गर्दैन भन्ने जिज्ञासामा उनले भ्रष्टाचारमा शून्य सहनशिलतामा सरकार अघि बढिरहेकाले स्विस बैंकमा भएको नेपालको पैसा समेत कानूनअनुसार फिर्ता ल्याउने प्रतिबद्धता ब्यक्त गरे । उनले भने–‘यदि कसैले गैरकानुनी रुपमा कालो धन राखेको छ भने त्यसलाई नेपालको कानुन बमोजिम छानविन गरेर सार्वजनिक गर्न सरकार प्रतिबद्ध छ ।’