दलिय विवाद मुडभेड तर्फ, मोर्चाद्वारा सत्तापक्षको पार्टी कार्यालय तोडफोड

फागुन १, बारा-केन्द्रमा दलिय मुद्दाको विवाद बढ्दै जाँदा ठुला दलका कार्यकर्ता मेडभेडमा उत्रन थालेका छन् । यसमा एमाओवादीले नेतृत्व गरेको मोर्चा सबैभन्दा उग्र देखिएको छ । एमाओवादी नेतृत्वमा रहेको मधेश केन्द्रित दलहरु र केही जातिय दलहरुले जिल्लाको कलैया ५ मा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

आन्दोलनकारीहरुले पार्टी कार्यालयको मूल ढोकाको ताल्चा तोडेर कार्यालय भित्र रहेका कुर्सीहरु बाहिर निकालेर तोडफोड गरेका हुन् । यस्तै कलैया ६ मा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा पनि आन्दोलनकारीहरुले तोडफोड गर्न खोज्दा प्रहरीसंग झडप भएको छ । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले लाठी चार्ज गर्नुका साथै दुई राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेको छ ।

बाराको कलैयामा रहेका जिल्ला मालपोत, भूमीसुधार र नापी शाखा कार्यालय सिमरामा सार्ने निर्णयको विरोधमा भएको आन्दोलनलाई प्रयोग गर्दै एमाओवादी मोर्चाका कार्यकर्ताहरु काँग्रेस एमालेमाथि खनिएका हुन् । यही समुहले आजै बिहान कान्तिपुर पब्लिकेशनको गाडी कलैयामा आगोल समेत लगाएको थियो ।