सुदूरपश्चिमाञ्चल सेमिफाइनलमा

माघ २७, पोखरा-एकपक्षीय खेलमा बेलायतको अल्डर सटटाउन फुटबल क्लबलाई ३-० गोलले हराउँदै सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलोपटक सहभागिता जनाएका दुबै टोलीबीचको खेलमा सुदूरपश्चिमाञ्चल सुरुआतदेखि नै हावी बनेको थियो। पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा सुदूरपश्चिमले ६२ औं मिनेटमा खाता खोल्यो। सुदूरपश्चिमका लागि सुनिल वलले पहिलो गोल गरे। उनले हेमन्त थापा मगरको पासमा गोल गरेका थिए।
दोस्रो गोल ६९ औं मिनेटमा हेमन्त थापा मगरले गरेका थिए। उनले विपक्षी रक्षकलाई छकाएर गोल गरेका थिए। तेस्रो गोल ८७ औं दिनेश राजवंशीले थपेका थिए। दिनेशले विदेशी खेलाडी ओलालाक आनको पासमा गोल गरेका थिए। अल्डर सटटाउनले भने खासै गोल गर्न लायक अवसर बनाउन सकेन।
हेमन्त थापा मगर म्यान अफ दि म्याच भए। सेमिफाइनलमा सुदूरपश्चिमाञ्चलले बुधबार हुने मनाङ मस्र्याङदी क्लब र त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अन्नपुर्णले छापेको छ ।
खेलपछि अल्डर सटटाउन फुटबल क्लब बेलायतका प्रशिक्षक मार्क वर्डसनले खेलाडीले पहिलो हाफमा राम्रो खेले पनि दोस्रो हाफमा खेल्न नसकेको बताए। सुदूरपश्चिमाञ्चलका प्रशिक्षक किरण श्रेष्ठले खेलाडीले आफ्नो पोजिसनमा रहेर खेल्दा जित सफल भएको बताए। मंगलबार थ्रीस्टार र झापा एघारको खेल हुनेछ।