नेपालगन्जको क्रिकेट संकट

माघ २४,नेपालगञ्ज -नेपाली क्रिकेटको उर्वरभूमि मानिने नेपालगन्ज अहिले संकटमा गुजि्ररहेको छ। नेपालगन्जलाई महिला क्रिकेटको उद्गमथलो नै मानिन्छ। तथापि थुप्रै पुरुष खेलाडीले पनि राष्ट्रिय टोलीबाट महत्व‍पूर्ण उपलब्धी बटुलेका छन्। घरेलु क्रिकेटमा विशेष योगदान पुर्याीएकोे नेपालगन्जको पछिल्लो क्रिकेट अवस्था भने एकदमै सुस्त छ। क्रिकेट संस्कृतिको सहरमा चिनिएको नेपालगन्जमा स्तरीय क्रिकेट प्रतियोगिता हुन नसकेको वर्षौं भइसक्यो।
नेपालगन्जमा क्रिकेट लोकप्रियता बढाउन सहयोग गरेको रात्रिकालीन क्रिकेट पनि अहिले हुँदैन। २०६१ सालमा नेपालगन्जले पहिलोपल्ट विद्यालयस्तरमा महिला क्रिकेट हुँदा त्यसले खुबै चर्चा पायो। त्यसपछि जिविसको सहयोगमा हुँदै आएको अन्तरविद्यालय क्रिकेट तीन वर्षदेखि रोकिएको छ। राष्ट्रियस्तरका प्रतियोगितामा पनि नेपालगन्जको नतिजा निराशाजनक छ।
किन खस्कियो नेपालगन्जको क्रिकेट स्तर?
प्रशिक्षक दीपेन्द्रप्रताप सिंहका अनुसार खेलाडीसँगै व्यवस्थापनले मिहिनेत गर्न नसक्दा नेपालगन्जमा क्रिकेट लोकप्रियता घट्दो छ। उनी भन्छन्, ‘लोकप्रियता घट्नुमा क्षेत्रीय र जिल्ला क्रिकेट संघको व्यवस्थापन जिम्मेवार छ। साथै खेलाडीको पनि कमजोरी छ।’
नेपालगन्जबाट राष्ट्रिय टोलीबाट खेल्ने एक्लो खेलाडी हुन् महेश क्षेत्री। एक दशकअघि उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उमेर समूहको टोलीमा अनुपम सिंह, सुवेन्दु पाण्डे, आकाश विष्ट, अमरसिंह राउटेला, प्रनित थापा र विजय चौधरीले खेले पनि महेशपछि राष्ट्रिय टोलीमा नेपालगन्जका खेलाडीले स्थान बनाउन सकेका छैनन्।
नेपालगन्जको क्रिकेट माथि उठ्न नसक्नुमा खेलाडी र व्यवस्थापनको समान कमजोरी देख्छन् महेश। राष्ट्रिय टोलीका पूर्वओपनिङ ब्याट्सम्यान तथा विकेटकिपर महेश भन्छन्, ‘नेपालगन्जमा पुरुष र महिला दुवैमा प्रतिभावान खेलाडी छन्। तर उनीहरूले अवसर र प्रोत्साहन पाएका छैनन्। क्रिकेटमा राम्रो गर्ने खेलाडीले मात्र मिहिनेत गरेर पुग्दैन। क्षेत्र, जिल्लासँगै स्थानीयले सहयोग गर्नुपर्छ। खेलाडीलाई सही मार्गमा लगाउने काम व्यवस्थापनको हो। तर हाम्रो नेतृत्वले क्रिकेट विकास गर्ने सही योजना बनाउन सकेका छैनन्। खेलाडीले पनि आवाज उठाउनुपर्ने हो। त्यो भइराखेेको छैन।’
एकसमय राष्ट्रिय महिला टोलीमा आधा खेलाडी नेपालगन्जकै हुन्थे। नेपालले सन् २००७ मा मलेसियामा सम्पन्न एसिसी महिला क्रिकेट च्याम्पियनसिप खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राख्दा नेपालगन्जबाट नेरी थापा (कप्तान), ममता थापा (विकेटकिपर), बिनु बुुुढामगर, मनीषा रावल, केशरी चौधरी, सीता राना र तृष्णा सिंहले प्रतिनिधित्व गरेका थिए।
क्षेत्री नेपालगन्जमा क्रिकेट विकास कमजोर हुनुमा आन्तरिक विवादलाई मुख्य मान्छन्। राष्ट्रिय टोलीका पूर्वकप्तान क्षेत्री भन्छन्, ‘नेतृत्वमा भएका हामी नै चुकेका छौं। यहाँको क्रिकेट खस्कनुमा हामी आफैले जिम्मेवारी लिनुपर्छ। हरेक खेलको विकास गर्ने प्रमुख जिम्मेवारी नेतृत्वको हो। आपसी मतभिन्नताले क्रिकेटलाई असर गर्यो्। क्रिकेट विकास गर्ने हो भने निस्वार्थ रूपमा काम गरे फेरि पुरानै अवस्थामा फर्कन सक्छौं।’
क्रिकेट खेलाडीको सफलता र असफलतासँगै व्यवस्थापनको मूल्यांकन हुनुपर्ने आवश्यकता देख्छन् क्षेत्री। उनले थपे, ‘नतिजाको आधारमा हामी खेलाडीलाई मूल्यांकन गर्छाैं। तर नेपालगन्जमा क्रिकेटको नेतृत्व गर्नेको मूल्यांकन भएन। अब नेतृत्वमा युवाको आवश्यकता छ।’
नेपाल क्रिकेट संघ र सरकारले पनि सम्भावना भएका क्षेत्रलाई सहयोग नगरेको उनको आरोप थियो। उनले भने, ‘स्थानीय स्तरमा क्रिकेट गतिविधि बढाउने काम स्थानीय नेतृत्वको हो। तर त्यस्ता क्षेत्रको भौति पूर्वाधार विकासमा क्यान र सरकारले विशेष सहयोग गर्नुपर्थ्यो। तर यहाँको क्रिकेट पूर्वाधारमा अहिलेसम्म सरकारले सहयोग गरेको छैन।’नेपालगन्जमा क्रिकेट खेल्ने एकमात्र मैदान भनेको मंगलप्रसाद उच्च माविको मैदान हो। महेन्द्र रंगशालामा प्रशिक्षण गर्न अस्थायी रूपमा एउटा ठाउँमात्र छुट्याइएको छ।नागरिक न्युजबाट