रुसमा थप नाकावन्दी गर्ने अमेरिकी चेतावनी

माघ १५,काठमाडौँ-अमेरिकाले रुसमा थप नाकावन्दी लगाउने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री ज्याक ल्यूले पृथकतावादी समुहलाई साथ दिएको भन्दै थप नाकावन्दी लगाउने चेतावनी दिनुभएको हो । युक्रेनमा सकृय रुस समर्थित अलगाववादी विद्रोहीलाई रुसले मद्दत गरिरहेको अमेरिकाको आरोप छ । अमेरिकाले रुसमा यसअघि पनि नाकावन्दी गर्दै आएको छ । यसबाट रुसको अर्थतन्त्र खस्किँदै गएको छ । यसअघि यूरोपीय संघले पनि रुसमा प्रतिबन्ध बढाउने चेतावनी दिएको थियो । अमेरिकी अर्थमन्त्री ल्यूले पहिले कुटनीतिक माध्यमबाट समस्याको समाधान गरी नाकावन्दी खुकुलो पार्ने कोशिसमा रहेको भन्दै आवश्यक परे नाकाबन्दी बढाउन पनि तयार रहेको बताउनु भएको छ । अमेरिका र जर्मनी रुसलाई आर्थिक नाकावन्दीको पक्षमा छन् भने ग्रीसले त्यसको विरोध गर्दै आएको छ । रुस समर्थित अलगाववादी विद्रोही समूहले युक्रेनको पूर्वी क्षेत्र दोनेत्सक र लुहांस्कमा गत बर्षको अप्रिल महिनामा कब्जा गरेको थियो । विद्रोही विरुद्धको लडाइमा हालसम्म ५ हजार जनाको मृत्यु भैसकेको छ ।