रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबको विजयी सुरुआत

माघ ११,काठमाडौं- उपाधि दाबेदार थ्रीस्टार क्लबले बहुचर्चित रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्रीस्टारले पूर्वान्चलको मोरङ फुटबल क्लबलाई ३–० ले हरायो ।

खेलको ३५औं मिनेटमा सन्तोष साहुखलले एक गोल गर्दै थ्रीस्टारलाई प्रारम्भिक अग्रता दिए । दोस्रो हाफको ४८औं मिनेटमा साहुखलले दोस्रो गोल गर्दै थ्रीस्टारको अग्रतालाई दोब्बर पारे । यसपछि ५५औं मिनेटमा मोरङका रुपेश तामाङले आत्माघाती गोल गरेपछि थ्रीस्टार ३–० ले विजयी भयो ।राष्ट्रिय टोलीका कप्तान सागर थापालाई औपचारिक रुपले क्लबमा भित्र्याएपछिको पहिलो खेलमा थ्रीस्टारले शानदार सुरुआत गरेको हो । यसअघि गत माघ ७ गते सुरु भएको राष्ट्रिय लिग फुटबलमा मनाङ–मस्र्याङ्दी क्लबले सुदूरपश्चिमान्चल फुटबल क्लब कैलालीलाई ३–० ले नै हराएको थियो ।

यसपटक राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका मनाङ–मस्र्याङ्दी, थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लब तथा जिल्लाबाट झापा, मोरङ, रुपन्देही र कैलाली गरी ९ टोली सहभागी छन् ।पहिलोपटक होम एन्ड अवेको आधारमा सन्चालन भइरहेको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका ५ ओटा क्लबहरुले दशरथ रंगशालामा होम म्याच खेल्नेछन् भने जिल्लाका चार टोलीले सम्बन्धित जिल्लाका रंगशालामा होम म्याच’ खेल्नेछन् ।