यूक्रेनमा रकेट हमलामा ‘१६ मारिए’

काठमाडौं-पूर्वी यूक्रेनको मारियूपोल शहरमा रुस समर्थित विद्रोहीहरुले गरेको रकेट हमलामा परी १६ जना मारिएको अनि करिब ८० जना घाईते भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । शहरको पूर्वमा रहेको आवासीय तथा बजार क्षेत्रमा रकेट प्रहार भएको प्रहरी प्रमुखले बताएका छन्। विद्रोहीका प्रवक्ताले हमलामा आफ्नो कुनै हात नरहेको भन्दै आरोपलाई सरासर गलत प्रचार भनेका छन्। डोनेत्स्कमा रहेको पत्रकार क्रिस्टोफर मिलर भन्छन् एक आवासीय भवन, पार्किंग गर्ने ठाउँ तथा व्यस्त बजारमा रकेट प्रहार भएका थिए। यसैबिच गत अप्रिल महिनायता पूर्वी क्षेत्रहरुमा भएका लडाईंहरुमा परी पाँच हजारभन्दा धेरैको ज्यान गइसकेको छ। डोनेत्स्क तथा लुहान्स्क क्षेत्रका ठूला भूभाग विद्रोहीहरुले आफ्नो कब्जामा लिएका छन्। दश लाख भन्दा धेरै मानिसहरु विस्थापित भएका छन्। पूर्वी यूक्रेनका मुख्य रुस समर्थित विद्रोही नेता एजेक्जाण्डर जाखारचेन्कोले शुक्रबार आफ्ना लडाकूहरुले फौजी कारवाही गरिरहेको र कियभसंग युद्धविरामबारे वार्ता गर्न नचाहेको बताएका थिए।बिबिसी