नेपाल केन्यासँग ५ विकेटले पराजित,डिभिजन १ मा उक्लन असफल

माघ ९ -काठमाडौं- नेपाल आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन एकमा उक्लिनबाट बञ्चित भएको छ । नामिबियामा भएको डिभिजन २ को अन्तिम खेलमा केन्यासँग पराजित भएपछि नेपालको डिभिजन एकमा उक्लिने र आइसिसी वर्ल्ड लिग च्याम्पियनसिप र इन्टनरकन्टिनेन्टल कप खेल्ने संभावना सकियो ।

शुक्रबार नै भएको अर्को खेलमा नेदरल्याण्ड्सले युगाण्डलाई ६ दशमलव ३ ओभर मात्र खेलेर ७ विकेटले हराएपछि नेपाल रनरेटमा नेदरल्याण्ड्सभन्दा पछि परेर डिभिजन एकमा उक्लिनबाट बञ्चित भयो ।
नेपालले जितका लागि केन्यालाई १ सय ९५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरको नेपालले ४९ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९४ रन बनायो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले नट आउट ९१ रन बनाए । १ सय १६ बल खेलेका उनले ७ चौका हानेका थिए । यस्तै कप्तान पारस खड्काले २०, शरद भेषावकरले १८ तथा विनोद भण्डारीले १६ रन बनाए ।
प्रतियोगितामा नेपालले ५ खेलमा तीन खेल जित्यो भने २ खेलमा हार बेहोरेको छ । पहिलो खेल युगान्डासँग दुई रनले पराजित भएको नेपाल दोस्रो खेलमा चार पटक विश्वकप खेलिसकेको नेदरल्यन्ड्सलाई २ विकेटले हराउँदै नेपाली क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धिसमेत हासिल गरेको थियो । त्यस्तै, नेपालले तेस्रो खेलमा क्यानाडालाई ७ विकेट र चौथो खेल आयोजक नामिबियालाई ३ विकेटले हराएकाे थियो ।