यमनका राष्ट्रपतिको निवासमा आक्रमण, राष्ट्रपति सुरक्षित

काठमाडौँ-यमनका राष्ट्रपतिको निवासमा आक्रमण भएको छ । यमनको शिया हूथी विद्रोहीहरुले राष्ट्रपतिको निवासमा भीषण गोलाबारी गरेको बिबिसीले जनाएको छ । आक्रमणका बेला राष्ट्रपति अब्दराब्बुह मसुंर हादि घरभित्रै भएपनि सुरक्षित रहेको अधिकारीहरुले बताएका छन्। सुरक्षाकर्मीहरुसंगको भिडन्तपछि शहरको अर्को भागमा रहेको राष्ट्रपति भवनमा विद्रोहीहरु प्रवेश गरेपछि राष्ट्रपतिको घरमा गोलाबारी गरिएको समाचार आएको हो। सूचनामन्त्री नादिआ अल(सक्काफले सामाजिक सञ्जाल ट्वीटरमा जनाएअनुसार नजिकैका घरका छतहरुबाट लडाकुहरुले राष्ट्रपतिको घरमा भीषण गोलाबारी गरेका थिए।

प्रत्यक्षदर्शीहरुका अनुसार करिब आझा घण्टापछि गोलाबारी रोकिएको थियो। विद्रोहीहरुको गोलाबारीका कारण युद्धविराम सम्झौता तोडिएको बताईएको छ। मुलुकको उत्तरी क्षेत्रमाथि नियन्त्रण जमाएका हूथी लडाकुहरु गत सेप्टेम्बरमा राजधानी साना छिरेका थिए। यद्यपि राष्ट्रपनि भवन अझै उनीहरुको नियन्त्रणमा आईसकेको छैन्। हूथी लडाकुहरुले आफूहरुको बाहुल्य रहेको प्रान्तमा धेरै हदसम्म स्वायत्तता दिनुपर्ने माग गर्दै आएका छन्। बिबिसी