संविधानसभाको बैठक आज फेरि बस्दै

माघ ६,काठमाडौं- हिजो मध्य रातमा तोडफोडपछि स्थगित गरिएको संविधानसभाको बैठक आज फेरि बस्दैछ । मध्यरातमा प्रक्रिया सुरु गर्न खोज्दा एमाओवादी सहितका मोर्चाका दलले संविधानसभा अवरुद्ध गरेका थिए । दिउँसो १ बजे संविधानसभाको बैठक बोलाइएको छ । बैठक अघि संविधानसभाका अध्यक्षले दलहरुसँग परामर्श गर्ने तयारी गरेका छन् । आजको संविधानसभा बैठकमा पनि हिजोको कार्यतालिका नै तय गरिएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । दलहरुको परामर्श र कार्यव्यवस्था परामर्श समितिमको बैठकका आधारमा अघि बढ्न् संसद सचिवालयले जनाएको छ । एमाओवादी सभासद्हरुले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङमाथि आक्रमण प्रयास गरे भने एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाले सभासद् ऋषि पोखरेलमाथि आक्रमण गरेको थिए । संविधानसभा अध्यक्ष नेम्वाङले प्रस्ताव निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एकजना एमाओवादी सभासद् रोष्ट्रमतर्फ अगाडि बढेका थिए । मर्यादापालकले रोकेका थिए । लगत्तै एमाओवादीका सभासदहरु आक्रमणमा उत्रिए । एमाओवादी सभासदहरु जनार्दन शर्मा, शिवनारायण मण्डल, अमनलाल मोदीलगायत दर्जनौं सभासद्ले सभामुखको रोष्ट्रममा आक्रमण गर्न जबरजस्ती गर्न थालेका थिए । केहीसमय मौन बसेको सभाध्यक्ष सुवासन्द्र नेम्वाङले पछि आजसम्मका लागि बैठक स्थगन गर्नुभएको थियो ।