जेफ्रीरी फेल्टम्यान नेपालको तीनदिने औपचारिक भ्रमणमा

पुष २९, काठमाडौं- संयुक्त राष्ट्रसङघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्रीरी फेल्टम्यान नेपालको तीनदिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै हुनुहुन्छ ।

राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले मधेसी मोर्चाका नेताहरुका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङगठन (सार्क)का महासचिव अर्जुनबहादुर थापासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, उहाँले प्रधानसेनापति गौरवशमशेर जबरासँग सैनिक मुख्यालयमा भेटघाट गर्नुहुनेछ ।
यसअघि, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा पनि उपमहासचिव फेल्टम्यान नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएको थियो ।