ग्यासको कालो बजारी भएको थाहा पाए अब १०० मा फोन गर्नुस

पुष २७, काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सबै प्रहरीलाई ग्यासको कालोबजारीको अनुगमन गर्ने अधिकार भएकोले १०० नम्बरमा टेलिफोन गरेर जो सुकैले पनि कालोबजारीलाई कारवाही गराउन सक्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज भएको कार्यक्रममा प्रजिअ अर्यालले नजिकको ग्राहकलाई नदिएर कसैले टाढाका लाई ग्यास दिन्छ भने तुरुन्त १०० मा फोन गर्न आह्वान गर्दै कालाबाजारीलाई कारवाही हुने प्रतिबद्धता जनाउनुभयो । उद्योगी र ब्यापारीहरुले ग्यास स्टोकमा राखेर बार्गेनिङ्ग गर्दा पनि अभाव भएको भन्दै आर्यालले केही त्यस्तालाई कारवाही गरेको र अरुको पनि पहिचान गरेर कारवाही गर्ने बताउनुभयो ।

यस्तै बाणिज्य विभागका निर्देशक हरिनारायण बेलवासेले आयल निगमको निरिहताको कारण जन्मेको अभावबाट ब्यापारीहरुले फाईदा लिएको दावी गर्दै कम्पनीहरुले धेरै बिक्री गर्नेलाई ग्यास दिने र थोरै उपभोक्तालाई विक्रीगर्नेलाई नदिएको कारण अभाव उत्पन्न भएको बताउनुभयो । तर नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बरौनी रिफाईनरी बन्द भएकोले अभाव भएपनि अहिले आपूर्ति सुचारु भईसकेको भन्दै आपूर्ति सुचारु हुँदा समेत किन सहजहुन सकेन भन्ने कारणको खोजीमाआफुहरु रहेको जानकारी दिनुभयो । एक दुई दिनमा पुरै आपूर्ति गर्न भारतीय आयल निगम सँग कुरा भईसकेको भन्दै त्यसपछि पुरै सहजहुने दावी गर्नुभयो ।