श्रीलंकाली राष्ट्रपतिमा मैथ्रिपाला सिरिसेना विजयी

एजेन्सी – श्रीलंकामा भएको राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति माहिन्दा राजापाक्षे पराजित भएका छन् । राजापाक्षेलाई उनकै पुर्व सहयोगी मैथ्रिपाला सिरिसेनाले हराएका हुन् ।

राजापाक्षे सरकारका पुर्व स्वास्थ्यमन्त्री रहेका सिरीसेनाले निर्वाचनमा झण्डै ५२ प्रतिशत मत ल्याएको निर्वाचन परिणामले देखाएको छ । राजापाक्षेले भने ४७ प्रतिशतभन्दा कम मत प्राप्त गरेको बताइएको छ । श्रीलंकाको निर्वाचन आयोगले मतपरिणामको औपचारिक पुष्टि गर्न बाँकी छ । कोलम्बोबाट प्राप्त स्वतन्त्र रिर्पोटहरुका अनुसार राष्ट्रपति राजापाक्षेको कार्यालयले निर्वाचनमा पराजित भएको स्विकार्दै सत्ता हस्तान्तरण्ँको सहज तरिका अपनाउने तयारी थालिसकेको छ ।

संभवत आजै साँझ नयाँ राष्ट्रपतिको रुपमा सिरीसेनाले सपथ लिनेछन् । सन् २००५ मा पहिलोपटक श्रीलंकाका राष्ट्रपति बनेका राजापाक्षेले सशक्त सैन्य कारवाहीमार्फत सन् २००९ मा तमिल विद्रोहीलाई परास्त गरेका थिए । झण्डै २८ वर्षसम्म चलेको तमिल विद्रोहको अवसानसँगै राजापाक्षेको लोकप्रियता चुलिएको थियो ।