पोखरा कप फुटबलमा ११ पोखरा क्वार्टरफइनलमा प्रवेश

पौष २५,पोखरा – आयोजकको टिम पोखरा ११ मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।प्रिक्वार्टरफाइनलमा आयोजकले भुटानको क्लियरिङ फुटबल क्लव सिएफ्सीलाई ३-० ले हराउँदै अन्तिम आठमा ठाउँ पक्का गरेको हो ।
मध्यान्तरसम्म सुनील बिके र अनिल ओझाको गोलबाट २-० ले अग्रता लिएको पोखरा ११ ले इन्जुरी समयको अन्तिम घडीमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ओझाले अर्को गोल थपेका थिए ।
ओझाले दुवै गोल पेनाल्टीमार्फत गरेका हुन् । अन्तिम समयमा सुनील बिकेलाई भुटानी खेलाडी नन्तु क्षेत्रीले फल गरेपछि रातो कार्ड खाए ।
रेफ्रीमाथि अभद्र व्यवहार गर्न पुगेका लक्ष्मण लिम्बुले पनि दोहोरो पहेंलो कार्ड खाएसंगै भुटानी दुई खेलाडी एकै पटक बाहिरिएका थिए ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा सुरुवाती तीन खेलमा लगातार तीनवटा मोफसलका टोली पराजित भएको अवस्थामा आयोजक टीम भने सशक्त देखिंदै क्वार्टरफाइनलमा पुगेको हो ।