छरितो सेवा दिन अग्रसर राप्ती अञ्चल अस्पताल

राप्ती- राप्ती अञ्चल अस्पताल तुलसीपुरले दन्तरोग विशेषज्ञसहितको सेवा दिन सुरु गरेपछि अहिले उपचारका लागि आउने दाँतका रोगीको सङ्ख्या दिन प्रतिदिन बढेको छ । अस्पतालमा दन्तरोग विशेषज्ञका रुपमा डा गणेश चौधरी आएपछि दैनिक ५० देखि ६० दाँत रोगका बिरामी आउने गरेका छन् । अस्पतालबाट दाङ, सल्यान, रुकुम र रोल्पाका विरामीले सेवा पाएका छन् । उपचार गराउन आउनेको चापलाई चौधरी एकजना मात्र दन्त चिकित्सकले नभ्याएपछि अहिले मुक्तिनाथ रौनियार पनि करारमा नियुक्ति गरिएको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा दाँतको सम्पूर्ण चेकजाँच, चोटपटकको उपचार, दाँत सफा गर्ने, कीरा लागेको दाँत निकाल्ने, भर्ने, दाँतको आरसिसी गर्नेलगायतका सेवा उपलब्ध छ । अस्पतालमा आवश्यक पर्ने भौतिक पूर्वाधार र उपकरण अभावका कारण नयाँ दाँत फेर्ने सेवा भने हाल दिन नसके पनि अब चाँडै दिने तयारी अस्पतालले गरेको छ । केही महिनादेखि अस्पतालमा बालरोग विशेषज्ञ डाक्टरसहितको सेवा सुरु भएपछि अहिले उपचारका लागि आउने बालबालिकाको सङ्ख्या पनि निकै बढेको छ ।

बालरोग विशेषज्ञका रुपमा डा किशोर खत्री अस्पतालमा आएपछि अहिले दैनिक १०० देखि १५० जना बिरामी आउने गरेका छन् । ती बिरामी दाङसहित रुकुम, रोल्पा, सल्यानलगायतका जिल्लाबाट पनि आउने गरेका छन् ।