विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्छ –प्रधानमन्त्री

पुष १४, काठमाडौ – प्रधानमन्त्री सुशील कोइरालाले नेपालका विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको कुलपतिका रुपमा आज ४०औँ दीक्षान्त समारोहको अध्यक्षता गर्दै उहाँले यस्तो बताउनु भएको हो । समयसापेक्ष विश्वका उत्कृष्ट विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने किसिमको शिक्षा अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो । कुशल जनशक्ति तयार पार्ने विश्वविद्यालयहरुमा देखिएको सुशासनको अभाव वर्तमानमा चिन्ताको विषय भएको भन्दै उहाँले गुणस्तरिय शिक्षामा लाग्नु पर्नेमा जोड दिनु भएको छ । समारोहमा दीक्षित बनेकाहरुलाई बधाई तथा शुभकामना दिदैँ उहाँले प्राप्त गरेको शिक्षा, मुलुक र जनताको सर्वोपरि हितमा प्रयोग गर्न पनि आग्रह गर्नुभएको छ । उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले विभिन्न विषयमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहमा उपाधि प्राप्त गर्ने सात हजार ९३८ विद्यार्थीलाई उपाधि प्रधान गर्नुभएको थियो ।
कायक्रममा चाङवोन नेसनल युनिभर्सिटी कोरियाका प्रा.डा. क्यान ग्यु ली, शिक्षामन्त्री एवम् विश्वविद्यालयकी सहकुलपति चित्रलेखा यादव, विश्वविद्यालयका उपकुलपति प्रा.डा. हीराबहादुर महर्जन लगायतले आफ्नो विचार राख्नु भएको थियो ।
त्रिविविले संसारका विभिन्न १५० भन्दा बढी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग शैक्षिक, भौतिक, प्राज्ञिक र मानव संशाधन सहयोग आदानप्रदानका लागि हस्ताक्षर गरिसकेको छ ।