दरबारमार्गमा अन्तराष्ट्रिय स्तरको शुटिङ स्टुडियो संचालनमा

काठमाडौँ-चलचित्र, म्युजिक भिडियो तथा फोटो सुट एकै थलोमा गर्न मिल्ने अवधारणाले राजधानीको दरबारमार्ग स्थित उडल्याण्ड मलमा ‘मिलान इन्टरनेशनल स्टुडियो’ सञ्चालनमा आएको छ । आईतबार एक कार्यक्रम आयोजना गरी यो स्टुडियोको बारे सञ्चारकर्मीलाई जानकारी गराईयो ।  चलचित्र एवम् म्युजिक भिडियो छायांकनका लागि दैनिक १५ हजार रुपैयाँ भाडामा विभिन्न स्टाईलको ड्रेस र बत्तिको सुविधासमेत उपलब्ध गराउने आयोजकका तर्फाट जानकारी गराईयो ।

सो स्टुडियोले अन्तराष्ट्रिय स्तरको फोटोग्राफीको अवधारणा पनि सुरु गरेको छ । जो कोहीले पनि फोटो सुट गर्नु पर्दा सबै किसिमका कपडा, मेकअप, हेयर स्टाईलको सेवा समेत यही प्रदान गरिने मिलन इन्टरनेशनलका निर्देशक सपन दुलालले जानकारी गराए ।

‘बाल बालिका, पौढ देखि जेष्ठ नागरिकसम्मका लागि मध्यनजर राखेर स्टुडियोले तीन सय जोर कपडा बनाएको छ । फोटो सेसन गर्दा चाहिने सबै प्रकारका पहिरन हामी नै उपलब्ध गराउँछौं ।’ निर्देशक दुलालले भने,’हाम्रो स्टुडियोमा ३६ प्रकारका दृष्यहरु समेटिएको ब्याकड्रप छ ।

हामीले फोटो सेसनका लागि क्यामेरापर्सन समेत दिल्लीबाट नै ल्याएका छौं ।’ स्टुडियोको ब्याकड्रप दृष्यहरु हरेक तीन महिनामा फर्ने गरेको पनि उनले बताए । मिलनले इन्डोर मात्र नभएर आउटडोर फोटो शेसन पनि गर्दै आएको दुलालले जानकारी गराए । हलिउड,बलिउडका अभिनेता अभिनेत्रीको स्टाईलमा मेकअप र पहिरन प्रयोग गरेर पनि आफ्नो स्टुडियोमा फोटो सेसन हुने गरेको उनले बताए ।