फेरिदै राष्ट्रिय योजना आयोग

मंसिर २०, काठमाडौँ-राष्ट्रिय योजना आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउँदै सङ्घीय राज्यको अवधारणासमेतलाई सम्बोधन गर्नका लागि यसको नाम परिवर्तनसहित पुनःसंरचना गर्न सिफारिस गर्ने तयारी भएको छ ।       आयोगको पुनःसंरचना गर्न बनेको कार्यदलले ‘राष्ट्रिय नीति तथा योजना आयोग’ नाम राख्न आग्रह गर्ने योजना बनाएको छ ।

हालको आयोगका पदाधिकारीको भूमिका र जिम्मेवारीमा फेरबदल गर्ने तयारी गरिएको छ ।  अब बन्ने सङ्घीय प्रणालीलाई समेत ध्यानमा राखेर कार्यदलले आयोग पुनःसंरचना गर्ने खाका तयारी गरिएको त्यसलाई आयोगको बैठकमा प्रस्तुत गर्ने तयारी भएको आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले जानकारी दिए ।      आयोगले देशको विकासको योजना तथा नीति निर्माणमा सहयोग पु¥याउने र भएका कार्यको मूल्याङ्कलाई विशेष ध्यान दिने गरी विकास गर्नका लागि पनि आयोगको पुनःसंरचना गर्न लागिएको हो ।

विगतको तुलनामा यसलाई अझ प्रभावकारी बनाउनका लागि पनि पुनःसंरचना आवश्यक देखिएको हो ।  पुनःसंरचनाका लागि तयार पारिएको मस्यौदाअनुसार प्रधानमन्त्री अध्यक्ष, मन्त्रीस्तरको उपाध्यक्ष र राज्यमन्त्रीस्तरका पाँचजना सदस्य रहने उल्लेख गरिएको छ । हाल उपाध्यक्षलाई राज्यमन्त्रीस्तरको सेवा तथा सुविधा दिइएको छ ।