दश महिनामा तीस महिला बेपत्ता

मंसिर १५, इलाम- भारतसँग नाका जोडीएको इलामको पशुपतिनगरबाट सन् २०१४ को जनवरीदेखि अक्टोबरसम्ममा ३० जना युवती हराएका छन् ।  भारतसँग सीमा जोडिएको उक्त नाकाबाट १० महिनामा ३० जना युवती हराएको माइती नेपाल पशुपतिनगरमा उजुरी परेको छ । हराएकामध्ये १३ जनालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको माइती नेपालले जनाएको छ । माइती नेपालका अनुसार

भारतका दार्जिलिङ, सिलिगुडी, सिक्किमबाट भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो ।  दलालको फन्दामा परेर आफूहरू भारतका विभिन्न कोठीमा पुग्न बाध्य भएको उद्धार गरिएका ती युवतीले बताएका छन् ।  भारतमा बेचिनेमा १२ वर्षदेखि ४० वर्ष उमेर समूहका महिला रहेको माइती नेपालले जनाएको छ । दलालहरूले रोजगारीको प्रलोभन देखाउने तथा नक्कली विवाह, प्रेम नाटक गरेर घुम्न जाने बहानामा भारतमा पुगेका अधिकांश महिलालाई घरेलु कामदारका रूपमा लगाइने गरेको छ ।