जाजरकोट बस दुर्घटना : बेपत्ताहरुको अवस्था अझै अज्ञात, शोकमा बजार बन्द

मंसिर ६,जाजरकोट-  बिहीबार भुरको रावतगाउँको सडकबाट भेरीमा यात्रुबाहक बस खसेर ठूलो संख्यामा यात्रुहरु बेपत्ता भएको शोकमा शुक्रबार जाजरकोटका सबै बजार र रुकुम चौरजहारी बजार बन्द गरिएको छ। बस दुर्घटनामा भेरीमा खसेको बस र यात्रुहरुको शुक्रबार बिहानसम्म उद्धार हुन नसकेको भन्दै सदरमुकाम खलंगामा बसेको नागरिक संगठनहरुको संयुक्त बैठकले दुर्घटनाको शोकमा खलंगा बजार बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै जाजरकोटी जनतालाई परेको शोकमा साथ दिँदै उद्योग वाणिज्य संघ चौरजहारीले पनि चौरजहारी बन्दको घोषणा गरेको छ।
शोकमा जिल्लाका सबै व्यापार, उधोगधन्दा, कलकारखाना, शिक्षण संस्था र सरकारी कार्यालयसमेत बन्द गर्न उनीहरुले आग्रह गरेका छन्। दुर्घटनामा परेको बस र यात्रुहरुको उद्धारका लागि विभिन्न संघ सस्थाहरुले सरकारलगायत विभिन्न सरोकारवाला निकायलाई आग्रह गरेका छन्। साथै उनीहरुले भेरीमा पुल नबनेका कारण जाजरकोटको सडकमा राम्रो अवस्था नभएका गाडीहरु चल्ने गरेको र गाडीभित्रका यात्रुहरुको उचित व्यवस्था पनि गर्न नसकेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल पत्रकार महासंघ, नागरिक समाज, उद्योग वाणज्यसंघ र गैरसरकारी सस्था महासंघले संयुक्त विज्ञप्ती जारी गर्दै घटनामा बेपत्ताहरुको सिघ्र उद्धार एवं भेरी पुलको निर्माणलाई छिटो निर्माण गर्न आग्रहसमेत गरेका छन्।  घाइते १० जनाको हिजै उद्धार गरिएको र ३ वटा शव फेला परेपनि अहिलेसम्म गाडीमा भएको यात्रुहरुको संख्या एकीन हुन सकेको छैन। बेपत्ता बस र यात्रुहरुको उद्धारका लागि अहिले सेना र प्रहरीका गोताखोरहरु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उता सभासद् राजीवविक्रम शाहको एक टोली पोखरा पुगेर व्यावसायिक गोताखोरको व्यवस्था गरेर घटना स्थलतर्फ लागेको छ।
घटनामा परेको बस र यात्रुहरुको उद्धारका लागि हेलिकोप्टरमा घटना स्थलतर्फ दुई जना व्यावसायिक गोताखोरहरु साधन सम्पन्न बनाएर लगिएको सभासद शाहले बताए।
बिहीबार दुर्घटना भएको बसको उद्धारका लागि दिन भरिको प्रयास असफल भएपछि शुक्रबार व्यावायिक खोताखोरको व्यवस्था गरिएको हो। घटनाप्रति राज्यले बेवास्ता गरेका कारण लामो समयसम्म पनि वास्तविक अवस्था थाहा नभएको स्थानीयहरुको आरोप छ।