प्रधानमन्त्रीले गरे संविधानका विवादित विषयमा राप्रपा अध्यक्ष थापासँग छलफल

काठमाडौँ, ५ मङ्सिर । प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेटवार्तामा संविधानका विवादित विषयमा सहमति जुटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रस सहयोगी प्रकाश अधिकारीले  जानकारी दिए । सो अवसरमा  माघ ८ गतेभित्रै संविधान जारी गर्ने मुलुकको दृढ सङ्कल्पलाई साकार पार्न विवाद गरेर होइन सहमति कायम गरेर अगाडि बढ्न सबैले सकारात्मक प्रयत्न गर्नुपर्नेमा जोड दिइएको थियो ।  संविधान निर्माण प्रक्रियालाई पूर्णता दिएर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजान प्रमुख राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने तथ्यलाई प्रधानमन्त्री कोइरालाले अवगत गराएको अधिकारीले बताए । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सत्तारुढ दलको तर्फबाट प्रस्ताव पेस भएपछि सरकार र विपक्षी दलहरूबीच दूरी बढेकामा ध्यानाकर्षण गराउँदै राप्रपा नेपालका अध्यक्ष थापाले विवाद हल गर्न प्रधानमन्त्रीको भूमिका आवश्यक भएको बताए ।