तत्काल सहमति खोज्न विपक्षी दलहरूलाई राष्ट्रपतिको आग्रह

मंसिर ६, काठमाडौँ-राष्ट्रपति रामवरण यादवले संविधानका अन्तर्वस्तुमा तत्काल सहमति खोज्न प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित विपक्षी दलका नेतालाई आग्रह गरेका छन्।राष्ट्रपति यादवले शुक्रबार एकीकृत माओवादी अध्यक्ष दाहाल, मधेसी जनअधिकार फोमर लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छेदार र तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरलाई शीतल निवासमा छुट्टाछुट्टै भेटी संविधानका विवादित विषयमा सहमतिमा पुग्न आग्रह गरेका हुन्।
संविधानका अन्तर्वस्तुमा सहमति जुटन नसक्दा संविधान निर्माण प्रक्रिया नै अन्योलमा परेका बेला राष्ट्रपतिले यादवले संविधान निमार्णको पहल लिन एकीकृत माओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका छन्। जनतामाझ गरेको प्रतिबद्धता स्मरण गराउँदै राष्ट्रपति यादवले माघ ८ भित्र संविधान निर्माणको काम पूरा गर्न पनि दाहाललाई आग्रह गरेका छन्। संविधान निर्माणले मात्र आन्दोलनका उपलब्धि संस्थागत हुने भन्दै राष्ट्रपतिले वार्ता र संवादका माध्यमबाट सहमतिमा पुग्न आग्रह गरे।
‘शान्ति सम्झौताको हस्ताक्षरकर्तासमेत भएकाले तोकिएको मितिमा संविधान जारी गर्नु तपाईको पनि जिम्मेवारी हो,’ राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संवाद र सहमतिबाट माघ ८ भित्र संविधान निर्माणको काम सम्पन्न गर्न तपाईले पहल लिनुस्।’संविधानका अन्तर्वस्तुमा दलीय सहमति निर्माण गर्ने बेला प्रमुख दलबीच दुरी बढेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले संवाद र सहमतिबाट अघि बढ्न दाहाललाई सुझाएको स्रोतको दाबी छ। नागरिकमा खबर छ ।