यस्तो छ सार्क अवधिको उडान व्यवस्थापन

मंसिर ६, काठमाडौँ-मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन अवधिभरका लागि नयाँ उडान–अवतरण तालिका बनाएको छ। आन्तरिक वायुसेवा कम्पनी तथा नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अधिकारीहरूसँग बुधबार र बिहीबार छलफल गरेपछि विमानस्थल व्यवस्थापनले नयाँ तालिका बनाएको हो।

नयाँ तालिकाअनुसार उडान–अवतरण गर्न आग्रह गर्दै विमानस्थलले व्यवस्थापनले आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ तथा यहाँ उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको छाता संगठन ‘बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स इन नेपाल’ (बार्न) लाई पत्राचार गरेको छ।
विमानस्थलको पत्रअनुसार आगामी मंगलबार (मंसिर ९) बिहान ९ देखि साँझ ५ बजेसम्म सार्क सम्मेलनमा सहभागी हुन आउने विशिष्ठ पाहुनाका जहाज बाहेक कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण हुनेछैनन्। बिहान ९ अघि र साँझ ५ पछि भने सबै उडान यथावत हुनेछन्।
त्यसैगरी बुधबार (मंसिर १० मा) भने उडान–अवतरण यथावत हुनेछन्। तर, विमानस्थलमा जहाज पार्किङका लागि सीमित स्थानमात्र उपलब्ध हुने पत्रमा उल्लेख छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ पार्किङ सीमित गरिएको पत्रमा छ। हाल आन्तरिकतर्फ करिब दुई दर्जन र अन्तर्राष्ट्रियतर्फ करिब एक दर्जन जहाज पार्किङ गर्न सकिन्छ।  सम्बद्ध एक वायुसेवा कम्पनीका अनुसार आगामी बिहीबार (मंसिर ११ मा) बिहान ७ देखि १० बजेसम्म पनि उडान–अवतरण गर्न पाइनेछैन। १० देखि दिउँसो १ सम्म सबै उडान यथावत हुनेछन्। त्यसपछि १ बजेदेखि ४ बजेसम्म फेरि उडान नगर्न आग्रह गरिएको छ। ४ बजेपछि भने पूरै समय उडान सञ्चालन हुनेछन्।
त्यस्तै सार्क शिखर सम्मेलन सकिएको भोलिपल्ट आगामी शुक्रबार (मंसिर १२ मा) भने बिहान ८ देखि दिउँसो २ बजेसम्म कुनै पनि उडान गर्न पाइनेछैन। त्यस समयमा विशिष्ठ पाहुनाहरूका जहाज फर्कने तालिका छ। दिउँसो २ बजेपछि मात्र विमानस्थल सामान्य अवस्थामा फर्कने छ।  आगामी मंगलबारदेखि बिहीबारसम्म यहाँ आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई रात बिताउन नदिने निर्णय पनि विमानस्थल व्यवस्थापनले गरेको छ। ‘धेरै वा थोरै जति जहाज भए पनि हामीलाई सकेसम्म सबै जहाज काठमाडौं बाहिरका विमानस्थलमा राख्न भनिएको छ,’ अर्को एक आन्तरिक वायुसेवाका अधिकारीले भने, ‘अब कुन विमानस्थलमा जहाज राख्ने हो, त्यसबारे आन्तरिक छलफल गर्दैछौं।’ उनका अनुसार आगामी मंगलबार ९ बजेभन्दा अघि नै सकेसम्म धेरै उडान सञ्चालन गरिने छ। अन्तिममा जाने जहाज जुन गन्तव्य जाने हो, उतै रात बस्ने छ र भोलिपल्ट मात्र यात्रु लिएर काठमाडौं फर्कने छ।
त्रिभुवन विमानस्थल व्यवस्थापनले आन्तरिक वायसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सलाई आगामी मंगलबार दुई–दुईवटा मात्र जहाज यहाँ राख्न भनेको छ। त्यस्तै अर्को कम्पनी सिमि्रक एयरलान्सलाई भने एउटामात्र राख्न दिने भएको छ। बुद्धले भने दुईवटा आफ्नो ह्यांगरमा तथा बाँकी अन्य विमानस्थलमा राख्ने तयारी गरेको छ। बुद्धसँग हाल ८ वटा जहाज सञ्चालनमा छन्। यतीसँग सात जहाज छन्। चारवटा जहाज भएको सिमि्रकको एउटा जहाज सधैं पोखरामै रहने गर्छ। त्यसले पोखराबाट मुस्ताङ उडान गरिरहेको छ। उसले बाँकी दुईवटा अन्य विमानस्थलमा राख्ने छ। त्रिभुवन विमानस्थलमा हाल आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक अधिकतम ४ सयजति उडान–अवतरण हुने गरेका छन्। यिनमा ३ सय ३० देखि ४० जति आन्तरिक र बाँकी अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गर्छन्। यही चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनले आगामी सोमबारदेखि शुक्रबार (मंसिर ८ देखि १२) सम्म सम्पूर्ण उडान–अवतरण तालिका परिवर्तन गरेको हो। सुरक्षा तथा अन्य विविवध कारण पाँच दिनसम्म उडान–अवतरण समय परिवर्तन गरिएको तथा उक्त पाँच दिनका लागि विमानस्थल चौबीसै घन्टा खुला गर्ने निर्णयसमेत भएको विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ।
यता आन्तरिक वायुसेवा कम्पनीहरूले भने विमानस्थल व्यवस्थापनले ‘जबर्जस्ती स्लट’ दिएका कारण उडान–अवतरणमा ठूलो समस्या आइरहेको गुनासो गरेका छन्। ‘सार्क सम्मेलनका कारण भन्दा पनि जतिबेला मन लाग्यो त्यतिबेला उडान समय दिएपछि आन्तरिकमात्र नभई अन्तर्राष्ट्रिय जहाज भनेको समयमा उड्न र बस्न कठिन भइरहेको छ,’ एक कम्पनीका अधिकारीले भने, ‘गएको १० दिनदेखि कम्तीमा एक घन्टा आकासमै होल्ड गर्नेदेखि उडान डिले र रद्दसमेत भइरहेका छन्।’ नागरिकमा खबर छ ।

मंसिर ९ : बिहान ९ देखि साँझ ५ बजेसम्म सार्कका पाहुनाबाहेक कुनै पनि जहाज उडान–अवतरण बन्द
मंसिर १० : सम्पूर्ण उडान यथावत तर जहाज पार्किङ क्षेत्र सीमित
मंसिर ११ : बिहान ७ देखि १० तथा दिउँसो १ देखि ४ बजेसम्म सार्क बाहेकका उडान–अवतरण बन्द
मंसिर १२ : बिहान ८ देखि दिउँसो २ बजेसम्म सार्क बाहेकका उडान–अवतरण बन्द
मंसिर ९, १० र ११ गते सार्कबाहेकका कुनै पनि जहाज रात बस्न नपाउने

– See more at: http://nagariknews.com/economy/main-story/story/28128.html#sthash.U5EGTwe7.dpuf