मासुको मुल्य निर्धारण नहुँदा किसान मर्कामा

मंसिर ४, काठमाडौँ- नेपाल कुखुरा बजार व्यवस्थापन संघ कुखुरा र मासुको मूल्य निर्धारण गर्ने जिम्मेवारीबाट पछाडि हटेको छ । एक हप्तापछि मूल्य तय गर्ने भनेर अघिल्लो मंगलबार विज्ञप्ति निकालेको संघले अझै नयाँ मूल्य सार्वजनिक गर्न सकेको छैन ।
मासु पसल र कुखुरा सप्लायर्सहरु आफैँले मूल्य तय गरेर कुखुरा किन्ने र मासु बेच्ने गरेका छन् । जुन मूल्य केही समयअघिको भन्दा बढ्नुको साटो घट्दो नै छ । सस्तो मूल्यमा कुखुरा बेच्दा लागतभन्दा पनि कम परेको भन्दै किसानहरुले मूल्य बढाउन दबाब दिँदै आएका छन् ।

‘अन्यत्र किलोको १५० रुपैयाँभन्दा बढी मूल्यमा कुखुरा बिक्री हुन थाल्यो । चितवन, मकवानपुर क्षेत्रमा मूल्य नै दिँदैनन्’ चितवन नवलपुर कुखुरापालक समाजका संयोजक दीपक पाण्डेले भने । चितवनमा ज्यँुदो कुखुराको मूल्य प्रतिकिलो ११५ देखि १२५ रुपैयाँसम्म पर्ने गरेको उनले बताए ।
एउटा कुखुरा हुर्काउँदा प्रतिकिलो लागत १७० रुपैयाँ पर्ने किसानहरु बताउँछन् । कात्तिकको तेस्रो हप्तासम्म संघले ज्यँुदो कुखुराको मूल्य प्रतिकिलो १३० रुपैयाँ तोकेको थियो । योभन्दा बढी मूल्य तोक्न किसानले माग गरेपछि संघले कात्तिक २४ मा सर्वपक्षीय भेला राखेको थियो ।