साफ महिला फुटबलमा नेपाल श्रीलङ्कासंग भिड्दै

कात्तिक ३०,काठमाडौं- पाकिस्तानमा जारी तेस्रो साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता अन्तर्गत प्रतियोगिताको लिग चरणको अन्तिम खेल आइतबार हुँदैछ । यस खेलमा नेपालले श्रीलङ्काका साथमा प्रतिस्पर्धा गर्ने भएको छ ।

पाकिस्तानको इस्लामावादमा रहेको जिन्ना रङ्गशालामा आज यो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार ११ बजेर पैंतालिस मिनेटमा शुरू हुनेछ । यस खेलमा  नेपाल जित्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा रहेको छ ।

यस अघि भएका प्रतियोगितामा दुई वटा खेलहरू खेलेको नेपालको ६ अङ्क रहेको छ । नेपाल यस लिगको शीर्ष स्थानमा छ । त्यस्तै समान खेलका साथ ६ अङ्कनै पाएको श्रीलङ्का भने गोलअन्तरका आधारमा लिगको दोस्रो स्थानमा रहेको छ ।

यस अघि नेपालले प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा आयोजक राष्ट्र पाकिस्तानलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

उता, श्रीलङ्काले आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानलाई २–१ गोलले हारएको थियो भने दोस्रो खेल भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।