फुटको संघारमा राप्रपा नेपाल

कात्तिक ३०,काठमाडौं-संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल फुटको संघारमा पुगेको छ। असन्तुष्ट पक्ष नेतृत्व गरेका सहअध्यक्ष पद्मसुन्दर लावतीले अध्यक्ष कमल थापाको नेतृत्वमा पार्टी एकीकृत रूपमा अघि बढ्न नसक्ने बताए। ‘उहाँ (थापा) कसैसँग परामर्श नगरी एकलौटी निर्णय गर्नुहुन्छ। यस्तो कार्यशैलीले पार्टी अघि बढ्न सक्दैन,’ लावतीले भने।अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको समूहले मंसिर पहिलो साता राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ। ‘अध्यक्षको हैकम, मनोमानी र अपारदर्शी व्यक्तिवादी, परिवारवादी, स्वेच्छाचारी प्रवृत्तिबाट असन्तुष्ट राप्रपा नेपालका नेता, कार्यकर्ता राष्ट्रिय भेलामा ठोस निष्कर्षमा पुग्नेछन्,’ पार्टी सुदृढीकरण अभियानका संयोजक लावतीले नागरिकसँग भने, ‘पार्टी फुटाउने भन्दा पनि अध्यक्षले कार्यशैली सुधार्नुपर्योक भन्ने माग हो। भेलाबाट हामी समयसीमा तोक्नेछौं। त्यस समयमा पनि अध्यक्ष थापाले माग पूरा गर्नुभएन भने त्यसले परिणाम राम्रो ल्याउने छैन।’  पार्टी सुदृढीकरण अभियानका नाममा मंसिर ५ र ६ गते आह्वान गरिएको राष्ट्रिय भेलामा ६५ जिल्लाका ११ सय प्रतिनिधि सहभागी हुने अभियानका संयोजक लावतीले बताए। सुदृढीकरण अभियानका क्रममा ५० भन्दा बढी जिल्लामा समिति गठन भएको संयोजक उनले बताए।
भेलामा बालकृष्ण नेउपानेले राजनीतिक, गणेश शेरचनले सांगठनिक र सगुनसुन्दर लावतीले जनवर्गीय संगठनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
संस्थापन पक्षले भने सुदृढीकरण अभियानमा लाग्नेमाथि कारबाही गर्दै आएको छ। संस्थापनले केन्द्रीय सदस्य दिलविकास राजभण्डारी, सुगनसुन्दर लावतीलगायत माथि कारबाहीको घोषणा गरिसकेको छ।