टाइसुट लगाएर सिंहदरबारबाटै मोटरसाइकल चोरी

कात्तिक २८ काठमाडौँ-देशको प्रशासनिक मुख्यालय सिंहदरबारभित्र सर्वसाधारणलाई छिर्न निकै गाह्रो पर्छ । तर यहाँभित्र चोरलाई भने छिर्न सहज छ । बारम्बार चोरीका घटना हुने सिंहदरबारभित्रबाट हालै एउटा मोटरसाइकल हराएको छ ।

झन्डै महिना दिनअघि परराष्ट्र मन्त्रालय परिसरबाट मोटरसाइकल चोरी भएको हो । परराष्ट्रमा करारमा कार्यरत एक कर्मचारीको बा.६३ प५८४३ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । सुटटाई लगाएका व्यक्तिले मोटरसाइकल चोरी गरेको सिसिटीभी रेकर्डमा देखिएको छ । तर,चोरी गर्ने व्यक्तिको हालसम्म पहिचान खुल्न सकेको छैन ।

आजको नयाँ पत्रिका दैनिकका अनुसार सिसिटिभी रेकर्डमा चोरले करिब एक घन्टा मोटरसाइकल रहेको स्थान निरीक्षण गरेर अर्को मोटरसाइकलको हेलमेट निकाली मोटरसाइकल डोहोर्याउँदै लगेका थिए । गेटमा रहेका प्रहरीले त्यसरी मोटरसाइकल लिएर जाँदा पनि कुनै सोधपुछ नगरेको देखिएको छ ।