फिफाद्धारा एन्फा अध्यक्ष थापा निलम्बित

कात्तिक १८, काठमाडौँ-अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल महासंघ एन्फाका अध्यक्ष गणेश थापालाई निलम्बन गरेको छ ।

उक्त संस्थाले एन्फाका अध्यक्ष थापालाई फुटबल सम्बन्धी कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरि १ सय २० दिनका लागि निलम्बन गरिएको जनाएको छ ।

फिफाको अनलाइनमा जनाइए अनुसार थापालाइ फिफाको आचार संहिता अध्ययन समितिले आचार संहिता उल्लंघन गरे नगरेको बारे अनुसन्धान सुरु गर्दै निलम्बन गरेको हो । यस निलम्बन पछि थापाले फुटबलसँग सम्बन्धीत कुनै पनि गतिविधिहरूमा संलग्न हुन पाउने छैनन् । यो निलम्बन मंगलबारबाटनै लागु भएको पनि उक्त अनलाइनमा उल्लेख गरिएको छ ।

फिफाले जनाए अनुसार थापा सहित एन्फाका पदाधिकारीहरू माथि लागेको अनियमितता बारेको आरोपमा छानबिन भैरहेको छ । अहिले थापामाथि ५८ करोड रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।