‘संविधान नबनेसम्म आन्दोलन नगरौं’

कात्तिक १८, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालासमक्ष राष्ट्रिय ख्रिष्टियन महासङ्घ, नेपालले आगामी संविधानमा धर्मनिरपेक्षतालाई अपरिवर्तनीय धारामा राखी तोकिएको समयमै संविधान जारी गर्नुपर्ने मागसहितको ज्ञापनपत्र प्रस्तुत गरेको छ ।महासङ्घका प्रतिनिधिहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगी ख्रिष्टियन समुदायको मृत्यु संस्कारको विषयलाई मध्यनजर गरी उपत्यकालगायत देशभरका सबै जिल्लाहरूमा यथाशीघ्र समाधिस्थलको व्यवस्था गर्नुपर्नेलगायतका चार सूत्रीय मागसहितको ज्ञापनपत्र प्रस्तुत गरेका थिए ।

सोही अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान जारी नहुँदासम्म कुनै पनि आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्नुभयो । महासङ्घका महासचिव सिवी गहतराजले सरकार र महासङ्घबीच २०६८ वैशाख १८ गते भएको तीन बुँदे सहमतिलगायत पटक–पटक भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “ख्रिष्टियन समुदायका आफ्ना मागसहितको ज्ञापनपत्र पटक–पटक बुझाउँदासमेत सुनुवाइ भएको छैन, अबको हप्तादिनभित्रमा माग पूरा नभएको खण्डमा देशव्यापी आन्दोलनको थालनी गर्नुको विकल्प छैन ।”