नेपाल दोस्रोपटक डिभिजन थ्री च्याम्पियन

कात्तिक १३, काठमाडौँ-युगाण्डालाई ६२ रनले पराजित गर्दै नेपालले लगातार दोस्रोपटक आइसीसी लिग डिभिजन थ्री क्रिकेट प्रतियोगिताको उपाधी हात पारेको छ । मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा विहीबार नेपालले युगाण्डालाई ६२ रनले पराजित गरेको हो । यो संगै समूह चरणमा युगाण्डासंग व्यहोरेको हारको बदला समेत नेपालले लिएको छ ।

नेपालले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डा ४१ ओभर १ बलमा सबै विकेट गुमाउदै १ सय ६१ रनमा समेटिएपछि नेपालले उपाधी उचालेको हो ।

नेपाललाई सहज जीत दिलाउन नेपाली बलरहरुले धारिलो बलिङ प्रदर्शन गरे । भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । ८ ओभर बलिङ गरेका भुवनले ३९ रन खर्चिएका थिए ।

बसन्त रेग्म्ीले २ विकेट हात पारे । सोमपाल कामी, सागर पुन र शक्ति गौचनले एक– एक विकेट लिए । युगाण्डाका लागि रोजर मुकाशाले ५१ रन बनाएपनि जीतका लागि पर्याप्त भएन् । लिग चरण नेपाललाई २० रनले हराएको युगाण्डा फाइनलमा भने घुंडा टेक्न बाध्य भयो ।

यसअघि मलेसियाको क्वालालाम्पुर स्थित किनरारा ओभल एकेडेमी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउदै २ सय २३ रनको योगफल खडा गरेको थियो । नेपालका लागि तीन जना ब्याट्सम्यानले अर्धशतक पुरा गरे ।

ओपनरद्वय नरेश बुढाऐर र सागर पुनले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए । सागर ६४ र नरेश ५१ रन बनाएर आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्लले ५६ रनको योगदान दिए । माथिल्लो क्रमका ब्याट्सम्यानले गतिलो सुरुवात गरेपनि मध्यम र तल्लो क्रमका ब्याट्सम्यान भने सस्तैमा पेभेलियन फर्किए ।

कप्तान पारस खड्का १३ रनमा मैदान बाहिरिदा अन्य कुनैपनि नेपाली ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन । बिनोद भण्डारी ९, आरिफ सेख ८, सोमपाल कामी ७, महबुब आलम ५ तथा शक्ति गौचनले शुन्य रनमा क्रिज छोडे ।

नेपालले आफ्नो इनिङसमा १२ चौका र ४ छक्का प्रहार ग¥यो । युगाण्डाका मुकाशा एक्लैले ६ विकेट लिए । गत संस्करणमा पनि फाइनलमा युगाण्डालाई हराएर नेपाल बिजेता बनेको थियो ।

प्रतियोगगिताको शीर्ष दुईमा रहदै नेपाल र युगाण्डा दुबै डिभिजन टुमा बढुवा भइसकेका छन् ।