चेल्सी र लिभरपुल क्वार्टरफाइनलमा

कात्तिक १३, काठमाडौँ -दुई बलिया टोली चेल्सी र लिभरपुल इङलिस लिग कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। चेल्सीले मंगलबार राति भएका खेलमा सेर्सबुरीलाई र आठपटकको विजेता लिभरपुलले स्वान्सीलाई समान २-१ गोलअन्तरले हराए। विजयी दुवै टोलीलाई जित हात पार्न पनि निकै कठिन भयो।

घरेलु मैदानमा उत्रिएको साविक उपविजेता लिभरपुलले अन्तिम समयमा गोल गर्दै जित निश्‍चित गर्‍यो। लिभरपुलका रक्षक डेजान लोभरेनले इन्जुरी समयको अन्तिम मिनेटमा निर्णायक गोल गरेका थिए। त्यसअघि दोस्रो हाफमा मैदान छिराइएका मारियो बालोटेलीले ८६ औं मिनेटमा गोल गरेपछि लिभरपुलले खेल बराबरीमा ल्याएको थियो।
स्वान्सीका फेडरिको फर्नान्डेजले इन्जुरी समयमा रातो कार्ड पाएपछि लिभरपुल थप बलियो बन्यो। यसअघि सुरुदेखि नै गतिलो प्रदर्शन गरेको स्वान्सीले मार्विन एमनेसमार्फत ६६ औं मिनेटमा अग्रता लिएको थियो। यसै सिजन इटालियन क्लब एसी मिलानबाट भित्र्याइएका बालोटेलीले अघिल्ला खेलमा प्रभाव देखाउन नसकेपछि मंगलबार राति सुरुआती टोलीमा अटाउन सकेका थिएनन्।
खेल नै हार्ने स्थिति देखिएपछि प्रशिक्षक ब्रेन्डन रोजर्सले ७८ औं मिनेटमा रिकी लाम्बार्टलाई निकालेर बालोटेलीलाई अवसर दिएका थिए। विवादास्पद यी स्ट्राइकरले फाबियो बोरिनीले दिएको क्रसमा गोल गर्दै टोलीमा आफ्नो महत्त्व पुष्टि गरे।
क्षमतावान स्ट्राइकरका रूपमा परिचित बालोटेलीले लिभरपुलमा आएयता १२ खेलमा दुई गोलमात्र गरेका छन्। प्रशिक्षक रोजर्सले गत शनिबार इङलिस प्रिमियर लिगअन्तर्गत हल सिटीविरुद्ध खेलेको सुरुआती टोलीमा नौ खेलाडी परिवर्तन गरेर लिभरपुललाई स्वान्सीविरुद्ध उतारेका थिए।
इङलिस प्रिमियर लिगको शीर्ष टोली चेल्सीलाई पनि जित हात पार्न सहज भएन। सेर्सबुरीका रक्षक जर्मेन ग्रान्डिसनबाट भएको आत्मघाती गोल नै चेल्सीका लागि विजयी गोल बन्यो। ८१ औं मिनेटमा ग्रान्डिसनबाट आत्मघाती गोल भएको थियो।