यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरि तिहार मनाइदै

कात्तिक ४, काठमाडौँ-नेपालीहरुको महान् पर्व तिहार आजबाट सुरु भएको छ । आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार मनाइन्छ । पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजाआजा गरी मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा समेत मानिन्छ । आजको दिन कागलाई पूजाआजा गरी खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । आजैका दिनदेखि यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने प्रचलन रहिआएको छ । तिहारको सुरुवातदेखि नै गाउँसहरमा चहलपहल सुरुभइसकेको छ । तिहार मनाउन देशविदेशबाट घरफिर्नेहरु बढिरहेका छन् ।