अब आर्थिक बर्ष असारदेखि

कात्तिक १,काठमाडौँ-संसदको अर्थ समितिले आर्थिक वर्ष परिवर्तन गर्ने र वैशाखमै संसदमा बजेट पेस गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । आजको कान्तिपुर दैनिक लेख्छ समिति सचिवालयले आगामी वर्षदेखि असार १ देखि आर्थिक वर्ष हुने र बजेट वैशाख मसान्तभित्र संसदमा बजेट प्रस्तुत गर्नुपर्ने गरी तयार गरेको प्रस्तावमा समितिका लगभग सबै सदस्य सहमत देखिएका छन् । सरकारका विभिन्न निकाय र सरोकारवालासँग परामर्श गरी थप परिपक्व बनाउन आर्थिक वर्ष परिवर्तन र बजेट पेस गर्ने समयतालिकासम्बन्धी यो प्रस्ताव छलफलका लागि प्रस्तुत गरेका हौं, समितिका सभापति प्रकाश ज्वालाले भने ।

अघिल्ला छलफलहरूमा आर्थिक वर्ष परिवर्तनको पक्ष र विपक्षमा बहस भएका थिए । एक थरी सभासदहरूले आर्थिक वर्ष परिवर्तन गरी बजेट पेस गर्ने समयसँगै पुर्‍याउनुपर्ने बताएका थिए भने अर्का थरी सभासदहरूले आर्थिक वर्ष परिवर्तन नगर्दा पनि हुने वा गरे एक महिनाअघि सार्न उपयुक्त हुने सुझाव दिएका थिए ।

नयाँ आर्थिक वर्षको बजेट असार मसान्तमा पेस गरी साउन १ देखि कार्यान्वयनमा जाँदा विभिन्न व्यवहारिक र प्राविधिक कठिनाइ आएको र त्यसले बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको थियो । खासगरी वषरका समयमा विकास निर्माणका काम प्रभावित हुने भए पनि आर्थिक वर्षको अन्तिम महिना असारमा ठूलो मात्रामा बजेट निकासा भई दुरुपयोग भएको गुनासो थियो । त्यसलाई सम्बोधन गर्ने क्रममा आर्थिक वर्ष परिवर्तनको सन्दर्भसमेत उठेको हो ।