सवारी साधनको भाडा बृद्धि

कात्तिक १,काठमाडौँ-सरकारले सवारीसाधनको भाडामा कात्तिक १५ बाट लागु हुने गरि वृद्धि गरेको छ । कान्तिपुर दैनिक लेख्छ यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार भौतिक योजना तथा यातायात मन्त्रालय र व्यवसायी बीच भदौं १५ मै भाडा बढाउने सहमति भए पनि चाडपर्वलाई मध्यनजर गरेर दुई महिनापछि मात्र लागु गर्न लागेको हो ।

सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच भएको सहमति अनुसार छोटा तथा लामो दुरीमा चल्ने सार्वजनिक यात्रुबहाक सवारीसाधनमा ५.६३ प्रतिशत वृद्धि गरिएको छ । यस्तै, मालबहाकमा भने काठमाडौं-पोखरा(नारायणगढ क्षेत्रसम्ममा ५.२७ प्रतिशत र तराई क्षेत्रमा ५.२१ प्रतिशत भाडा वृद्धि गरिएको हो ।

यस्तै, मिटर जडित ट्याक्सीको भाडामा ६.५८ प्रतिशतले वृद्धि गरिएको छ । लामो दुरीको भाडाको पूर्ण सुची १५ गते भित्रमा यातायात व्यवस्था अन्तरगतका विभिन्न कार्यालय, हरेक जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायमा भाडा सुचीको बुकलेट बनाएर पठाइदिने महानिर्देशक दाहालले बताए ।