एन्फाले अटेर गरे मन्त्रालयले कदम चाल्ने

कात्तिक १, काठमाडौँ-युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले विकल्पमा जान तयार नभए आउने परिणामको जिम्मेवार अखिल नेपाल फुटबल संघ एन्फा को वर्तमान कार्यसमिति हुने चेतावनी दिएको छ।

एन्फाले संसदको सार्वजनिक लेखा समितिको निर्देशन अटेर गर्ने संकेत गरेको भोलिपल्ट शुक्रवार मन्त्री पौडेलले भने,संसद सार्वभौम छ। लेखा समिति त्यसकै ईकाइ हो। त्यसको निर्देशनको अवज्ञा वा अस्विकार मन्त्री, राष्ट्रिय खेलकुद परिषद्(राखेप), एन्फा वा कसैले गर्न मिल्दैन। त्यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन।’

लेखाले ५८ करोडभन्दा बढीको भ्रष्टाचार भएको ठहर गर्दै एन्फा अध्यक्ष गणेश थापा थापालगायत चार जनाको पद स्थगन गरी छानबिन अघि बढाउन मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धीकरण विभागलाई निर्देशन दिएको थियो। सँगै लेखाले कार्यबहाक तोकेर एन्फालाई दैनिक काम कार्य अघि बढाउन भनेको थियो।