दशै विदामा घर गएका कार्यालय प्रमुख अझै फर्केनन्

 असोज ३१, बझाङ-नेपालीहरुको महान चाड विजयादशमीमा घर गएका बझाङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु अहिले सम्म पनि जिल्लामा फर्केका छैनन् । कार्यालय प्रमुखहरु जिल्लामा नआएपछि कार्यालयहरु सुनसान रहेका छन् । बझाङका अधिकांस सरकारी कार्यालयमा प्रमुखहरु जिल्ला बाहरि भएकाले तल्लो तहका अन्य कर्मचारीहरु पनि नियमित कार्यालयमा नबस्ने गरेको सेवाग्राहीको गुनासो छ । कार्यालय प्रमुख नभएका कार्यालयहरुमा जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, जिल्ला खानेपानी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला आर्युवेद कार्यालय, जिल्ला सिँचाइ कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जयपृथ्वी नगरपालिका कार्यालय, सरकारी वकिल कार्यालय, जिल्ला सडक कार्यालय र जिल्ला घरेलु विकास समितिको कार्यालय रहेका छन । यसैगरी दशै मानेर कार्यालय फर्केका जिल्ला वन कार्यालयका प्रमुख रमेश चन्द भने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल सँग ३ दिन अगाडी नेपालगञ्ज गोष्ठीमा गएका छन । प्रजिअ सहित अन्य सुरक्षा निकायका प्रमुखले भने दशै जिल्लामा नै मनाएका थिए । सरकारले दशैका लागि ५ दिन सार्वजनिक बिदा दिइएको भएपनि कार्यालय प्रमुख अझै जिल्लामा नफर्किदा सेवाग्राही मर्कामा परेका छन । तीन चार दिन लगातार जिल्ला विकास समितिमा धाउँदा समेत स्थानिय विकास अधिकारी छैनन् भनेर जिविसका अन्य कर्मचारीले फिर्ता पठाएको दहबगर गाविसका प्रेम बोहोराले बताए ।