‘भारतसंगको सम्झौताले लगानीको मार्गप्रशस्त’

असोज ३१, काठमाडौँ-अर्थमन्त्री डा. रामशरण महतले भारतसँग हालै भएको आयोजना विकास सम्झौता र ऊर्जा व्यापार सम्झौताले पूर्वाधारलगायत विकास निर्माणका क्षेत्रमा वैदेशिक लगानी जुटाउन मार्गप्रशस्त भएको बताएका छन् । नेपाल–भारत मैत्री समाजले काठमाडौंमा गरेको ‘द्विपक्षीय सहयोगमा जलस्रोत तथा ऊर्जा विकास नयाँ नीति संरचना’ विषयक कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक विकासका गतिविधिलाई दु्रत गतिमा अघि बढाउन तत्पर रहेको बताए । अन्तर्राष्ट्रिय समुदायले पनि नेपालको अपार जलस्रोत विकासको सम्भावनालाई अधिकतम उपयोग गरी आर्थिक समृद्धिको बाटोमा अग्रसर होस् भन्ने चाहना राखेको र अन्तर्राष्ट्रिय मुद्राकोष एवम् विश्व बैंकले जलविद्युत् उत्पादनका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका जानकारी दिए । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना र छ हजार मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा ढिलासुस्ती नहोस् भन्ने नेपालको चाहना रहेको बताउँदै अर्थमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि विगतमा भएका द्विपक्षीय सम्झौता कार्यान्वयन भएकामा प्रसन्नता प्रकट गरे । आगामी माघ ८ गतेभित्र जसरी पनि संविधान जारी गरेर छाड्ने वर्तमान सरकारको प्रतिबद्धता दोहो¥याउँदै उहाँले संविधान समावेशी हुनेमा आश्वस्त रहन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।