कस्ले भन्यो यो सरकार ढल्छ भनेर ? नेत्री भण्डारी

असोज ३१, विराटनगर-नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएकी छिन् । नेत्री भण्डारीले नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने जिकिर गरिन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले वर्तमान सरकार संयुक्त सरकार भएकाले सानातिना विवाद आउँदैमा सरकार परिवर्तन नहुने दाबी गरिन् । नेत्री भण्डारीले सङ्घीयता, शासकीय स्वरूप तथा निर्वाचन प्रणालीलगायतका विषयमा दलहरूबीच सहमति नभए जनताका बीचमा गएर विवादित विषयलाई जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने पर्ने बताइन् । भण्डारीले आगामी माघ ८ गते नयाँ संविधान जारी गर्नुबाहेक दलहरूसँग अरू विकल्प नभएकाले दलहरूबीच सहमति नभएका विषयलाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताएकी छिन् ।