इबोलाग्रस्त मुलुक लाइबेरियाबाट फर्केका १३१ प्रहरीलाई ककनी लगेर निगरानी

असोज ३१, काठमाडौं–सशस्त्र प्रहरीले इबोलाग्रस्त मुलुक लाइबेरियाबाट फर्केका एक सय ३१ जना सशस्त्रको टोलीलाई ककनीस्थित तालिम केन्द्रमा लगी विशेष निगरानीमा राखेको छ । त्यहाँ उनीहरुले २१ दिन विताउनेछन् ।

सो टोली संयुक्त राष्ट्रसंघको आह्वानमा ६ महिनादेखि शान्तिस्थापनार्थ नलाइबेरिया खटिएको थियो । टोली बुधबार राति पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो । विमान उत्रिनासाथ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टले सुरक्षित विमानस्थल हेल्थ डेस्कका स्वास्थ्यकर्मी विमानभित्र छिरी स्वचालित स्क्यानरबाट प्रारम्भिक परीक्षण गरेका थिए ।
त्यसैगरी सशस्त्र प्रहरीको प्राविधिक तथा चिकित्सक टोलीले ककनीमा २१ दिनको इन्कुभेसन पिरियडमा रहँदा केके गर्ने तथा केके नगर्ने जानकारी विमानभित्रै गएर गराएका थिए । आवश्यक परामर्शपछि लाइवेरियाबाट आएको सो डफ्फालाई विशेष गाडीमा राखी सशस्त्रकै स्कटिङमा राति नै ककनी पुर्याइएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।