राजस्व रसिद दुरुपयोग

असोज ३१, काठमाडौं-काठमाडौं महानगरपालिकाबाट बेपत्ता भएको राजस्व रसिद दुरुपयोग भइरहेको पाइएको छ । नयाँ पत्रिका दैनिक लेख्छ हराएको बन्डलमध्येको एक प्रतिबाट अबैध रुपमा राजस्व संकलन गरिएको भेटिएको हो ।

एक वर्षअघि महानगरपालिकाबाट एक हजारप्रतिका २० बन्डल  राजस्व रसिद गायव भएका थिए । महानगरपालिका मातहतको वडा नम्बर ११ मा राजस्व संकलन गरिएको अवस्थामा रसिद भेटिएको हो । सो रसिदबाट अभिनव विसेप ठकुरीसँग घरजग्गा करबापत २६ हजार ६ सय २८ रुपैयाँ राजस्व असुली भएको थियो ।
रसिदमा सिरियल नम्बर २६४६९२ उल्लेख गरिएको छ । रसिद काटिएको मिति भने २८ मंसिर २०७० उल्लेख छ । वडा नम्बर ११ का सहायक प्रशासक प्रमुख प्रकाश खड्काले हराएका रसिद राजस्व संकलन भएको अवस्थामा  फेला पारेका हुन् ।