इन्धनको मूल्य घटेपनि घट्दैन गाडी भाडा

असोज ३१, काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउँदै लगेका बेला गाडी भाडा भने बढेको छ । यातायात व्यवस्था विभागले १५ कात्तिकदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा साढे ५ देखि साढे ६ प्रतिशतसम्म बढाउन सहमति दिएको हो ।२९ असोजमा विभागका महानिर्देशक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारी सहभागी बैठकले सार्वजनिक गाडीको भाडा बढाउने सहमति गरेको विभागका महानिर्देशक काशीराज दाहालले जानकारी दिएको राजधानी दैनिकमा खबर छ । पेट्रोलियम पदार्थको मूल्य १५/१५ दिनमा समायोजन गर्ने गरिएकाले यति छोटो अवधिमा गाडी भाडा परिवर्तन गर्न नसकिने हुँदा पहिलेकै सहमतिअनुसार भाडा बढाइएको दाहालको भनाइ छ ।
‘चाडपर्व सकिएपछि भाडा बढाउने मन्त्रीस्तरीय सहमति दसैंअगाडिनै भएको थियो, सो सहमतिअनुसार नै १५ कात्तिकदेखि लागू हुनेगरी भाडा बढाउन अनुमति दिइएको हो,’ दाहालले भने । पेट्रोलियम पदार्थको मूल्यमा हुने सामान्य घटबढले गाडी भाडामा ठूलो प्रभाव पार्न नसकने उनको भनाइ छ ।